एजेन्सी । बंगलादेशका प्रधानमन्त्री तारिक रहमान ले नेपालमा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली नागरिकलाई बधाई दिनुभएको छ।
प्रधानमन्त्री रहमानले सोमबार राति सामाजिक सञ्जालमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाली नागरिकको आकांक्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको सामर्थ्य यस निर्वाचनले स्पष्ट रूपमा झल्काएको उल्लेख गर्नुभएको छ।
उहाँले बंगलादेश र नेपाल बीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गर्नुभएको छ। साथै आगामी दिनमा दुई देशबीच व्यापार, विकास तथा क्षेत्रीय सहकार्य अझ विस्तार हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।
यसैबीच बंगलादेशमा पनि सन् २०२४ मा व्यापक विद्यार्थी आन्दोलन भएको थियो। उक्त आन्दोलनपछि गत माघमा सम्पन्न निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत प्राप्त गरेपछि तारिक रहमान प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो।
