काठमाडौं । हिन्दू धर्मशास्त्रमा मंगलबारलाई विशेष रूपमा भगवान श्रीगणेशको पूजा–आराधनाका लागि शुभ दिन मानिएको छ। कुनै पनि शुभ कार्यको आरम्भ गर्दा सर्वप्रथम विघ्नहर्ता गणेशको पूजा गर्ने परम्परा सदियौँदेखि चलिआएको छ। धार्मिक विश्वासअनुसार मंगलबार शुद्ध मनले व्रत बसेर गणेशजीको आराधना गर्दा सुख, शान्ति, समृद्धि र मनोकामना पूर्ण हुने उल्लेख छ।
मंगलबार किन विशेष?
धर्मग्रन्थका अनुसार मंगलबार भगवान श्रीगणेशको प्रिय दिन हो। यस दिन विधिपूर्वक पूजा, जप र व्रत बस्दा जीवनका विघ्नबाधा हट्ने, बुद्धि–ज्ञानको वृद्धि हुने र कार्यसिद्धि प्राप्त हुने विश्वास गरिन्छ। पछिल्ला वर्षहरूमा मंगलबार गणेश मन्दिरमा दर्शन गर्ने तथा घरमै पूजा गर्ने भक्तजनको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।
गणेश पूजाको १६ विधि
शास्त्रमा गणेश पूजाको विधि १६ भागमा वर्णन गरिएको छ। ती हुन्–
१. आह्वान
२. आसन
३. पाद्य
४. अर्घ
५. आचमन
६. स्नान
७. वस्त्र
८. गंध
९. पुष्प
१०. अक्षता
११. धूप
१२. दीप
१३. नैवेद्य
१४. तांबूल
१५. दक्षिणा
१६. आरती र परिक्रमा
यी सम्पूर्ण विधि शुद्ध र एकाग्र मनले संकल्प गरी सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ।
मंगलबार बर्जित गरिएका कार्य
धर्मशास्त्रका अनुसार मंगलबार केही कार्य नगर्नु उत्तम मानिन्छ–
कुखुरा वा अन्य पंक्षीको हत्या नगर्नु
माछा तथा मासु सेवन नगर्नु
मदिरा सेवन नगर्नु
विश्वासअनुसार यस्ता कार्यले बुद्धि भ्रमित हुनु, आर्थिक नोक्सानी वा क्रोध वृद्धि जस्ता समस्या निम्त्याउन सक्छन्।
लड्डुको धार्मिक कथा
पार्वतीलाई एकपटक देवताहरूले अमृतबाट बनेको दिव्य लड्डु प्रदान गरे। लड्डु देखेर कार्तिकेय (कुमार) र गणेशले मातासँग लड्डु मागे।
माताले सर्त राख्नुभयो—“तिमीहरू मध्ये जो धर्माचरणद्वारा श्रेष्ठ भई सबै तीर्थको भ्रमण गरेर पहिला फर्कन्छ, उसैलाई लड्डु दिनेछु।”
कार्तिकेय मयूरमा सवार भई तीर्थ भ्रमणमा निस्कनुभयो। तर गणेशजीले आफ्नो वाहन मुसा भएकाले तीर्थ भ्रमण गर्न कठिन ठानी श्रद्धापूर्वक माता–पिताको परिक्रमा गर्नुभयो।
तब पार्वतीले भन्नुभयो—
“सबै तीर्थको स्नान, सबै देवताको नमस्कार, सबै यज्ञ र व्रत पनि माता–पिताको पूजाको बराबरी हुन सक्दैन।”
यसरी गणेशजीले लड्डु प्राप्त गर्नुभयो। यही कथाले माता–पिताप्रतिको भक्ति सर्वोच्च धर्म हो भन्ने सन्देश दिन्छ। त्यसैले गणेशलाई लड्डु अर्पण गर्दा उहाँको मातृ–पितृ भक्ति स्मरण गर्नु आवश्यक मानिन्छ।
गणेशका नाम र अर्थ
‘ग’ = बुद्धि
‘ण’ = ज्ञान
यसरी गणेश बुद्धि र ज्ञानका प्रतीक मानिन्छन्। उहाँलाई ‘विघ्नेश्वर’ (विघ्न हटाउने), ‘विनायक’ (स्वयं नायक), ‘गणाध्यक्ष’ र ‘गणनायक’ नामले पनि पुकारिन्छ।
उहाँलाई सबै कार्य निर्बिघ्न बनाउने देवता र मङ्गलदाता मानिन्छ। सोच, चिन्तन, धारणा र व्यवहारमा शुद्धता ल्याउने गुणका कारण गणेशजी गुणका देवता भनेर पनि परिचित छन्।
गणेश पूजा गर्दा जप्नुपर्ने ११ मन्त्र
मंगलबार वा विशेष पूजाका अवसरमा यी मन्त्र जप्दा गणेश भगवान् छिट्टै प्रसन्न हुने विश्वास छ–
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लंबोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः
धार्मिक विश्वासअनुसार मंगलबार शुद्ध आचरण, व्रत, जप र श्रद्धासहित पूजा गर्दा जीवनका विघ्न हट्ने, बुद्धि–ज्ञानको विकास हुने तथा पारिवारिक सुख–समृद्धि प्राप्त हुने मान्यता छ। श्रद्धा र विश्वास नै धर्मको आधार भएकाले सदाचार र सकारात्मक सोचसहित गणेशजीको आराधना गर्नु नै सच्चा पूजाको सार मानिन्छ।