काठमाडौँ । रामप्रसाद भण्डारी ले सैनिक दिवसका अवसरमा टुँडिखेल मा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी तथा मित्र राष्ट्रबीचको सम्बन्ध सुदृढ गर्ने अभ्यासका रूपमा चित्रण गरेका छन्। सोमवार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलका क्रममा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशका सैनिकबीच तालिम आदान–प्रदान, संयुक्त अभ्यास र मैत्रीपूर्ण सांस्कृतिक प्रदर्शन हुने प्रचलन सामान्य रहेको बताए। सैनिक दिवसका अवसरमा अमेरिकी सेना, बेलायती सेना र भारतीय सेना का टुकडीहरूले कला तथा तालिम प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई सकारात्मक दृष्टिले लिनुपर्ने बताए।
उनका अनुसार यस्ता कार्यक्रमले मित्र राष्ट्रबीच विश्वास, सहकार्य र सैन्य कूटनीतिक सम्बन्ध मजबुत बनाउन मद्दत पुर्याउँछन्। विश्वका धेरै मुलुकमा यस्ता संयुक्त अभ्यास तथा प्रदर्शन नियमित हुने भएकाले यसलाई अनावश्यक रूपमा विवादित बनाउनु उचित नहुने उनको तर्क छ।
हाल सामाजिक सञ्जालमा विदेशी सैनिकको उपस्थितिलाई लिएर उठेका आलोचनाप्रति सङ्केत गर्दै भण्डारीले कतिपय प्रतिक्रिया मानसिक पूर्वाग्रहबाट प्रेरित देखिएको टिप्पणी गरे। विदेशी सेनाको सांस्कृतिक प्रस्तुति वा तालिम प्रदर्शनलाई राष्ट्रहितविरुद्धको विषयका रूपमा चित्रण गर्नु गलत हुने उनको भनाइ थियो।
भण्डारीले सामाजिक सञ्जालमा आएका ‘खबरदार’ शैलीका टिप्पणी तथा सरकारप्रतिको आलोचनालाई लक्षित गर्दै जिम्मेवार व्यक्तिहरूले तथ्य र अन्तर्राष्ट्रिय अभ्यास बुझेर मात्रै धारणा सार्वजनिक गर्नुपर्ने बताए। कुन देशप्रति सकारात्मक वा नकारात्मक दृष्टिकोण राखिएको छ भन्ने आधारमा विषयलाई विवादित बनाउनु उपयुक्त नहुने उनको धारणा थियो।
उनले आफू पनि उक्त कार्यक्रममा उपस्थित रहेको उल्लेख गर्दै मित्र राष्ट्रका सैनिकहरूबीचको सांस्कृतिक तथा तालिम आदान–प्रदान सामान्य अन्तर्राष्ट्रिय अभ्यास भएको स्पष्ट पारे। यस्ता कार्यक्रमले सैन्य दक्षता मात्र होइन, कूटनीतिक सम्बन्ध र विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उनले बताए।
यसै सन्दर्भमा उनले निर्वाचन आयोग लगायत राज्यका निकायहरूले अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा कूटनीति र राष्ट्रिय हितका विषयमा सन्तुलित दृष्टिकोण राख्नुपर्ने आवश्यकता औँल्याए।
भण्डारीले सैन्य कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यका आयामलाई बुझेर मात्रै सार्वजनिक टिप्पणी गर्न सरोकारवालाहरूलाई आग्रह गर्दै अनावश्यक विवाद सिर्जना गर्नुभन्दा राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।