Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि : तेल-चामल महँगियो, ग्यास अभाव कायमै, बजार अनुगमन तीव्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ३० २०८२
  • 1.5K
    SHARES

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य लगातार बढ्न थालेको छ । विशेषगरी खानेतेल, चामल, दालजस्ता अत्यावश्यक खाद्य सामग्रीको भाउ बढ्दा उपभोक्ताको भान्सामै प्रत्यक्ष असर परेको छ भने ग्यासको अभाव अझै पूर्ण रूपमा हट्न सकेको छैन ।

पछिल्लो समय खानेतेलको मूल्य प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म बढेको पाइएको छ । चामल र दालको मूल्य पनि क्रमशः बढ्दै गएको छ । बजारमा भइरहेको यो मूल्यवृद्धिले सामान्य उपभोक्तालाई दैनिक खर्च व्यवस्थापन गर्न कठिन हुने अवस्था सिर्जना भएको छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार पछिल्ला केही दिनदेखि बजारमा दाल, चामल र तेलको मूल्य बढेर आएको छ । उनका अनुसार उत्पादक तथा आयातकर्ताले नै अधिकतम खुद्रा मूल्य (एमआरपी) बढाएर पठाएका कारण खुद्रा व्यापारीले पनि बढेको मूल्यमा सामान बेच्न बाध्य भएका हुन् ।

तुलाधरका अनुसार डलरको भाउ वृद्धि, कच्चा पदार्थको महँगी तथा आपूर्ति व्यवस्थामा आएको असहजताले मूल्यवृद्धि हुन गएको बताइएको छ । उनले मूल्यवृद्धिको वास्तविक कारणबारे सरकारी निकायले गम्भीर चासो देखाएर बजारलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए ।

यता सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भने आफूले बिक्री गर्दै आएका अत्यावश्यक वस्तुमा हालसम्म मूल्य नबढाइएको जनाएको छ । सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले साल्टसँग मौज्दात रहेका नुन, दाल, चामल तथा चिनीमा मूल्यवृद्धि नगरिएको स्पष्ट पारे ।

उनका अनुसार हाल साल्टसँग करिब १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन मौज्दात छ, जसले करिब ६ महिनाभन्दा बढी समयसम्म आपूर्ति धान्न सक्छ । यसैगरी काठमाडौँ कार्यालय अन्तर्गत करिब ६ हजार ४४३ क्विन्टल चिनी स्टकमा रहेको र अन्य शाखामा पनि मौज्दात रहेकाले तत्काल मूल्य बढाउने अवस्था नरहेको उनले बताए ।

तर बजारबाट खरिद गरेर ल्याइने तेल, चामलजस्ता वस्तुको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेर आएको खण्डमा आगामी दिनमा मूल्य समायोजन गर्नुपर्ने सम्भावना रहेको उनले संकेत गरे । विशेषगरी कच्चा पदार्थको मूल्यवृद्धि र विदेशी मुद्रा सटही दरको प्रभावले आगामी दिनमा खाद्यवस्तुको मूल्य अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच बजारमा कालोबजारी तथा कृत्रिम अभावको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको जनाएको छ । विभागका निर्देशक नरहरी तिवारीका अनुसार दाल, चामल, तेललगायत वस्तुको मूल्यवृद्धि तथा ग्यास अभावबारे गुनासा आएपछि अनुगमन बढाइएको हो ।

उनले उपभोक्ताले सहज रूपमा दैनिक उपभोग्य वस्तु पाइरहेका छन् वा छैनन् भन्ने अवस्थाको अध्ययन गर्दै आपूर्ति प्रणालीमा समस्या सिर्जना गर्ने तथा कालोबजारी गर्नेहरूमाथि कडा निगरानी राखिएको बताए ।

सरकारले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक मूल्यवृद्धि गर्ने र आपूर्ति श्रृंखलामा अवरोध पुर्‍याउनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । उपभोक्ताको हित संरक्षणका लागि नियमित अनुगमन जारी रहने विभागले जनाएको छ ।

निर्वाचन नजिकिँदै गर्दा बजार भाउ नियन्त्रण, आपूर्ति सहजता तथा कालोबजारी नियन्त्रण सरकारका लागि चुनौतीपूर्ण विषय बनेको छ । उपभोक्ता भने महँगी र अभाव दुवैबाट राहत पाउने आशामा सरकारको प्रभावकारी कदमको प्रतीक्षामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४