काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल परिसर र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
यो कदम फागुन १ गते विभिन्न राजनीतिक दल तथा समूहहरूले विमानस्थल केन्द्रित विरोध प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर चालिएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेश अनुसार, बिहीबारदेखि लागू हुने निषेधाज्ञा एक महिनासम्म कायम रहनेछ। यस अनुसार विमानस्थल क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा जस्ता गतिविधि गर्न पाइने छैन।
अधिकारिको आदेशमा विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट) देखि आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन, पार्किङ स्थल र परिसरभित्रका सम्पूर्ण सडक खण्डहरू निषेधित क्षेत्र घोषित गरिएको छ।
प्रशासनले जारी विज्ञप्तिमा उल्लेख गरेको छ:
“अत्यन्तै संवेदनशील मानिने विमानस्थल क्षेत्रमा हुने भीडभाड र प्रदर्शनले हवाई सेवामा अवरोध पुर्याउन सक्छ र उत्तेजित भीडबाट तोडफोड वा आगजनी जस्ता उच्छृङ्खल गतिविधि हुने जोखिम देखिएकोले आदेश जारी गरिएको हो।”
स्थानीय प्रशासनले नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्ण रुपमा भेला हुने संवैधानिक अधिकारप्रति आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ। निषेधाज्ञा तोकिएको क्षेत्र बाहेक अन्य स्थानमा भने शान्तिपूर्ण विरोध प्रदर्शन गर्न बाधा नपर्ने प्रशासनको भनाइ छ।
यद्यपि, पूर्वजानकारी गराएर गरिने विरोध कार्यक्रमको क्रममा सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा कुनै क्षति पुगेमा त्यसको शोधभर्ना वा क्षतिपूर्ति आयोजकबाटै असुल्ने चेतावनी समेत प्रशासनले दिएको छ।
फागुन १ गतेको विरोध प्रदर्शनलाई लक्षित गर्दै विमानस्थल वरिपरि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
