काठमाडौं — बंगलादेशमा शेख हसिनाको १५ वर्षे शासन अन्त्य भएको लामो समयपछि पहिलो आमनिर्वाचन बिहीबार बिहानैदेखि सुरु भएको छ। सन् २०२४ को जुलाईमा विद्यार्थी नेतृत्वको रक्तपातपूर्ण विद्रोहले हसिनालाई सत्ताच्युत गरेपछि मुलुकमा पहिलो पटक लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ।
विशेषतः यो निर्वाचन बंगलादेशको इतिहासमा निकै फरक र अर्थपूर्ण मानिएको छ। दशकौँपछि पहिलो पटक बंगलादेशका दुई शक्तिशाली महिला राजनीतिज्ञ शेख हसिना र खालिदा जियाको सक्रिय सहभागिता बिना नै चुनाव हुँदैछ। यसपटक हसिनाको दल अवामी लीग लाई निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।
वर्तमान प्रतिस्पर्धा मुख्य रूपमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र जमात-ए-इस्लामी बीच हुने देखिएको छ। जमात-ए-इस्लामीले विद्रोहबाट आएका नयाँ राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल गरेको छ।
मतदान प्रक्रियामा मतदाताले दुई वटा मतपत्र प्राप्त गरेका छन्। पहिलो सेतो मतपत्र मार्फत उनीहरूले आफ्नो क्षेत्रको सांसद छान्नेछन् भने दोस्रो गुलाबी मतपत्र राष्ट्रिय जनमत सङ्ग्रहका लागि प्रयोग भइरहेको छ। दोस्रो मतपत्रमार्फत अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक सुधार प्याकेजको पक्ष वा विपक्षमा मतदान गर्न सकिन्छ।
सुझावित सुधार प्याकेजमा समावेश छन्:
संसद्मा महिलाको प्रतिनिधित्व बढाउने।
प्रधानमन्त्रीको कार्यकाल निश्चित सीमा भित्र सीमित गर्ने।
१०० सदस्यीय माथिल्लो सदनसहितको द्विसदनात्मक व्यवस्था लागू गर्ने।
यदि जनमत सङ्ग्रह पारित हुन्छ भने आगामी दिनमा हुने संवैधानिक संशोधनलाई माथिल्लो सदनको बहुमतले स्वीकृत गर्नुपर्ने व्यवस्था हुनेछ।
करिब १२ करोड मतदाता रहेको यस निर्वाचनको नतिजा भोलिसम्ममा आउने अपेक्षा गरिएको छ। मतदानलाई लक्षित गर्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। ढाकामा रहेकी बीबीसी संवाददाता योगिता लिमयले बताए अनुसार, लामो समयपछि बंगलादेशमा मतदानअघि नतिजाको ठोस भविष्यवाणी गर्न नसकिने अवस्था छ। उनले भनिन् कि यसपटक मतदाताले आफूसँग वास्तविक विकल्प भएको महसुस गरेका छन्।
गत जुलाईमा भएको ‘जेनजी’ विद्रोहका क्रममा सुरक्षाकर्मीको दमनबाट कम्तीमा १४०० प्रदर्शनकारीले ज्यान गुमाएका थिए। सोही दमनको आरोपमा हसिनालाई मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको थियो।
हसिनाको देश छाडेर भागेपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुस को नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। बिहीवारको निर्वाचनले बंगलादेशमा प्रतिनिधिमूलक शासनको नयाँ युगको सुरुवात गर्ने आशा नागरिकहरूले व्यक्त गरेका छन्। यसपटकको मतदानलाई अधिनायकवादी शासनबाट पूर्ण लोकतन्त्रतर्फको प्रस्थान बिन्दुको रूपमा हेरिएको छ।