काठमाडौं । हिन्दु धर्मावलम्बीहरूका लागि बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको विशेष पूजा–आराधना गर्ने दिनका रूपमा मानिन्छ। धार्मिक विश्वासअनुसार यस दिन व्रत बस्दा धन, सन्तान, विद्या तथा पारिवारिक समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ।
परम्पराअनुसार बिहीबार पहेँलो रङ्गलाई शुभ मानिन्छ। त्यसैले पहेँलो कपडा लगाउने, पहेँलो फूल चढाउने तथा पहेँलो वस्तुको दान गर्ने चलन छ। यस दिन भगवान विष्णुकी अर्धाङ्गिनी लक्ष्मीको पूजा पनि गरिन्छ, जसले घरमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ। धार्मिक मान्यताअनुसार यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्दा शुभ मानिन्छ, विशेष गरी अनुराधा नक्षत्र परेको दिन सुरु गरे अझ उत्तम फल मिल्ने विश्वास छ।
पूजा विधि
बिहान स्नान गरेर शुद्ध भई पहेँलो वस्त्र धारण गर्ने गरिन्छ। त्यसपछि पहेँलो फूल, चन्दन तथा प्रसाद तयार गरी भगवान विष्णुलाई अर्पण गरेर पूजा गरिन्छ। ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जाप गर्ने परम्परा पनि रहेको छ। व्रत अवधिभर सात महिनादेखि १३ महिनासम्म निरन्तर व्रत बस्ने मान्यता छ।
यस दिन केराको रुख पूजा गर्ने, पहेँलो चन्दन, चनाको दाल, लड्डु, छाता लगायतका वस्तु दान गर्ने चलन पनि रहेको छ। व्रत बस्दा एक छाक नुन नखाने प्रचलन रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
पौराणिक कथा र विश्वास
पौराणिक कथाअनुसार एकजना दानी तथा प्रतापी राजा नियमित रूपमा बिहीबार व्रत बस्ने र पुण्यकर्म गर्ने गर्थे। तर रानीले धार्मिक कर्ममा चासो नदिँदा दरबारको वैभव समाप्त हुने अवस्था आयो। गुरु वृहस्पति साधुको रूपमा दरबार पुगेपछि रानीको गलत निर्णयका कारण सम्पत्ति नष्ट भएको कथन पाइन्छ।
दुःख भोगेपछि रानीले आफ्नी बहिनीको सुझावअनुसार बिहीबार व्रत सुरु गरिन्। त्यसपछि दरबारमा पुनः सुख–समृद्धि फर्किएको तथा परदेश गएका राजा पनि फर्किएको कथा धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ।
यही कथाका आधारमा बिहीबार व्रत बस्दा धन, वैभव, शान्ति तथा पारिवारिक सुख प्राप्त हुने जनविश्वास आजसम्म कायम रहेको धार्मिक जानकारहरू बताउँछन्।