रौतहट । फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा जिल्लाको सीमा नाकामा सुरक्षा कडाइ बढाइएको छ। स्थानीय बासिन्दाका अनुसार सीमापारी भारतीय भूमिबाट गैरकानुनी रूपमा रौतहटतर्फ भित्रिन सक्ने हातहतियार, गोली, बारुद, पटका र लागुपदार्थ जस्ता अवैध वस्तुको कारोबार न्यूनीकरण र नियन्त्रण गर्न जिल्ला प्रहरी संयन्त्र अझ सशक्त र सक्रिय बनाइएको छ।
यस क्रममा चोरबाटो तथा तस्करीमा संलग्न गिरोह निष्क्रिय बनेको जानकारी रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले दिएका छन्। उनले भने, “निर्वाचनको समयमा शान्ति, सुव्यवस्था कायम गर्न र मतदाताले स्वतन्त्र रुपमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न अन्य सुरक्षा निकायसँगको सहकार्यमा प्रहरी सक्रिय छन्। कर छली वा अन्य अवैध वस्तु बरामद गर्ने क्रम पछिल्लो समयमा बढेको छ।”
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले भने कि निर्वाचन लक्षित सुरक्षा कडाइले कर छली, अवैध कारोबार र चोरीतस्करीमा संलग्न गिरोहलाई नियन्त्रणमा ल्याउन सहयोग पुर्याएको छ। उनका अनुसार चोरबाटो प्रयोग गरी अवैध कारोबारमा संलग्न व्यक्तिको पक्राउ दर बढेको छ भने समाजमा शान्ति र सुरक्षा कायम भएको छ।
पछिल्लो तीन महिनामा इलाका प्रहरी कार्यालय सिम्रौनगढले कैद सजाय तोकिएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको, १८ वटा मुद्दा दर्ता गरेको, करिब ८० केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको र ४६ हजार थान लागुऔषध हाइड्रोक्लोराइड बरामद गरेको तथ्य सार्वजनिक गरिएको छ।
प्रहरी स्रोतका अनुसार, सीमापारबाट भित्रिन सक्ने अवैध वस्तु नियन्त्रणमा लिएर स्थानीय बजारमा पर्ने जोखिम कम भएको छ। यसले निर्वाचनको समयमा सुरक्षा चुनौती न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
विशेषगरी निर्वाचनको दिनमा मतदाताले स्वतन्त्र र सुरक्षित मतदान गर्न सकुन् भन्ने उद्देश्यअनुसार सीमा क्षेत्रमा भन्सार, प्रहरी र स्थानीय सुरक्षाकर्मीहरूको सहकार्य प्रभावकारी बनाइएको छ। यसअघि चोरीतस्करीमा सक्रिय रहेका गिरोहहरू प्रहरी निगरानीमा आएपछि निष्क्रिय भएका छन्।
रौतहटका स्थानीयवासीहरू प्रहरीको सक्रियता र निगरानीले निर्वाचनपूर्व सामाजिक सुरक्षा र शान्ति कायम हुने अपेक्षा राखेका छन्। त्यस्तै, प्रहरी संयन्त्रले मतदाता संरक्षणका लागि आवश्यक सुरक्षा योजना लागू गर्दै आएको छ।
सुरक्षा कडाइका कारण गैरकानुनी कारोबार, कर छली र हथियारसहितको अपराध नियन्त्रणमा आएको प्रहरीको निष्कर्ष छ। जिल्ला प्रहरी प्रमुख रिजालका अनुसार, निर्वाचनपूर्व सुरक्षा व्यवस्थाले मतदाताले मतदानको स्वतन्त्रता प्रयोग गर्न सक्ने वातावरण निर्माण गरेको छ।
साथै, इलाका प्रहरी कार्यालय सिम्रौनगढले समुदाय र स्थानीय प्रशासनसँग मिलेर सीमा क्षेत्रमा नियमित निगरानी, गस्ती र सुरक्षा गतिविधि निरन्तर सञ्चालनमा राखेको छ। यसले सीमापारी अवाञ्छित गतिविधि रोक्ने र मतदाता सुरक्षामा विश्वास दिलाउने काम गरेको छ।
प्रहरीका अनुसार, निर्वाचनपछि पनि निगरानी जारी राखेर अवाञ्छित गतिविधि र अवैध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्ने तयारी गरिएको छ। यस अभियानले जिल्लामा शान्ति र सुव्यवस्था कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।