काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्ड नेतृत्वको टोलीले गोर्खा विग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित भेटघाटका क्रममा उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र संयुक्त अधिराज्यबीच लामो समयदेखि रहिआएको ऐतिहासिक, कूटनीतिक तथा जनस्तरको सम्बन्धलाई स्मरण गर्दै विकास, मानव कल्याण तथा विश्वशान्तिसँग सम्बन्धित विषयमा दुवै देशले निरन्तर सहकार्य गर्दै आएको उल्लेख गरे । उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्व शान्ति स्थापनामा दुवै राष्ट्रले समान धारणा राख्दै योगदान पुर्याइरहेको पनि बताए ।
राष्ट्रपतिले संयुक्त अधिराज्य नेपालका लागि महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै नेपालको सामाजिक, आर्थिक तथा पूर्वाधार विकासमा बेलायतले निरन्तर पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथै, ब्रिटिस गोर्खा सैनिकहरूले आफ्नो अनुशासन, समर्पण र साहसिक कार्यमार्फत नेपाल–बेलायत सम्बन्धलाई अझ मजबुत बनाउन योगदान दिएको भन्दै खुसी व्यक्त गरे ।
उनले संयुक्त अधिराज्यमा नेपालीहरूको उल्लेखनीय उपस्थितिले दुई देशबीचको जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको धारणा राखे । साथै, पूर्व ब्रिटिश गोर्खा सैनिकहरूले उठाउँदै आएका केही जायज गुनासाहरू कूटनीतिक तहमा छलफलको क्रममा रहेको जानकारी दिँदै यस विषयलाई द्विपक्षीय संयन्त्रमार्फत चाँडै निष्कर्षमा पुर्याउन उपयुक्त हुने बताए ।
राष्ट्रपति पौडेलले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारप्रति आभार व्यक्त गर्दै उक्त प्रतिवेदनमाथि सम्बन्धित निकायहरूले आवश्यक अध्ययन तथा समीक्षा गर्ने जानकारी दिए ।
सोही अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सधैँ अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा दिँदै आएको उल्लेख गर्दै गोर्खा सैनिकहरूको साहस, इमान्दारी र व्यावसायिक क्षमताको प्रशंसा गरे । उनले बेलायती सेनामा भर्ना भएका नेपाली युवालाई आफूहरूले “तपाईंहरू नेपालका छोरा–छोरी हुनुहुन्छ” भनेर सम्झाउने गरेको बताउँदै बेलायती जनतामा गोर्खा नेपालीहरूप्रति विशेष सम्मान र माया रहेको बताए ।
कार्यक्रममा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । उक्त भेटवार्ताले नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, सुरक्षा सहकार्य तथा गोर्खा सैनिकसँग सम्बन्धित विषयमा आपसी समझदारी अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।