काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता देखिन सक्ने चेतावनी दिनुभएको छ।
सोमबार काठमाडौंमा क्लिकमाण्डुले आयोजना गरेको ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले विश्वका विभिन्न देशमा भएका क्रान्ति र विद्रोहको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार आर्थिक विकासको प्रारम्भिक चरणमा स्थायित्व देखिए पनि वृद्धि तीव्र हुँदै जाँदा अवसरहरूको असमान वितरणले जनअसन्तुष्टि जन्माउने गर्दछ।
गभर्नर पौडेलले नेपालमा लागू भएको उदारीकरण नीतिका कारण केही व्यक्ति छिटो धनी बनेको उल्लेख गर्दै त्यस प्रक्रियालाई समाजले सहज रूपमा बुझ्न नसक्दा समस्या सिर्जना भएको बताउनुभयो। विशेषगरी नवप्रवर्तनमा आधारित उद्यमभन्दा लाइसेन्स र आयात केन्द्रित व्यापारबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्ति अस्वाभाविक देखिने उहाँको भनाइ थियो।
उहाँले आर्थिक उदारीकरणसँगै त्यसका सामाजिक प्रभावबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो। आर्थिक वृद्धिलाई समावेशी बनाउँदै अवसरहरूको समान र न्यायोचित वितरण सुनिश्चित गर्न सके समाजमा विद्रोह र अस्थिरताको जोखिम कम गर्न सकिने गभर्नर पौडेलको निष्कर्ष छ।