काठमाडौं । पछिल्लो समय नेपालमा अण्डाको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य घटाइएको जनाएको छ। स्वदेशी उत्पादन बढ्नुका साथै भारतबाट ठूलो परिमाणमा अण्डा भित्रिन थालेपछि बजारमा आपूर्ति बढेको र त्यसकै प्रभावस्वरूप मूल्य घटेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिएका छन्।
सङ्घले निर्धारण गरेको नयाँ समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटा) रु ३७५ र मिडियम अण्डा रु ३३५ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट रु ४३५ र मिडियम रु ४०५ थियो भने माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो। छोटो अवधिमै मूल्यमा निरन्तर गिरावट आएपछि कुखुरापालक किसान आर्थिक दबाबमा परेका छन्।
गत मङ्सिर महिनामा भने अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यतिबेला फार्ममै ठूलो अण्डा प्रतिक्रेट रु ५६५ र मझौला अण्डा रु ५५० मा कारोबार भएको थियो। तर अहिले बजारमा आपूर्ति अत्यधिक बढेपछि मूल्य घट्दै गएको सङ्घले जनाएको छ। अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा नेपालमा ठूलो मात्रामा भित्रिएको र स्वदेशी उत्पादन पनि उल्लेख्य रूपमा बढेकाले बजार सन्तुलन बिग्रिएको हो।
अण्डाको उत्पादन लागत प्रतिगोटा करिब १९ रुपैयाँ १२ पैसा पर्न आउने अनुमान गरिएको छ। यस आधारमा प्रतिक्रेट लागत मूल्य झण्डै रु ५७४ रुपैयाँ ६ पैसा पुग्ने देखिन्छ। अहिलेको समर्थन मूल्य लागतभन्दा निकै कम भएकाले किसानले घाटा व्यहोर्नु परेको अवस्था छ। कुखुरापालकहरूले दाना, औषधि, विद्युत्, श्रम खर्च लगायत उत्पादन लागत बढिरहेकाले मूल्य घट्दा व्यवसाय नै संकटमा पर्ने चिन्ता व्यक्त गरेका छन्।
सङ्घले भारतीय अण्डाको आयात नियन्त्रण गर्न सरकारसँग पटक–पटक माग गर्दै आएको जनाएको छ। स्वदेशी उत्पादनलाई संरक्षण नगरे कुखुरापालन व्यवसाय कमजोर हुन सक्ने र त्यसले दीर्घकालीन रूपमा खाद्य सुरक्षा र रोजगारीमा असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले देशभरका कुखुरा फार्मबाट प्राप्त मूल्य विवरण संकलन गरी चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य सार्वजनिक गर्ने गरेको छ। बजारमा मूल्य स्थिरता कायम राख्न, किसानको संरक्षण गर्न तथा स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारी नीति तथा नियमन आवश्यक रहेको सङ्घले जनाएको छ।
उद्योगी तथा किसानहरूले बजार व्यवस्थापन, आयात नियन्त्रण र लागत घटाउने उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। अन्यथा निरन्तर मूल्य गिरावटले कुखुरापालन क्षेत्र प्रभावित भई उत्पादन घट्ने र भविष्यमा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिइएको छ।