काठमाडौं । नेपाली चलचित्र जगतका विशिष्ट व्यक्तित्व तथा वरिष्ठ अभिनेता सुनिल थापाको शनिबार बिहान निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयाघातका कारण उनको ज्यान गएको हो ।
उनको असामयिक निधनसँगै नेपाली चलचित्र क्षेत्र अहिले शोकमग्न बनेको छ । कलाकार, निर्माता, निर्देशक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली फिल्म उद्योगले एक महत्वपूर्ण स्तम्भ गुमाएको बताएका छन् ।
‘राते काइँला’ उपनामबाट दर्शकमाझ लोकप्रिय बनेका सुनिल थापा नेपाली चलचित्रका सशक्त खलनायक अभिनेतामध्ये अग्रपंक्तिमा गनिन्थे । उनले खलनायक भूमिकालाई पनि नायक सरह लोकप्रियता दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । उनको अभिनय शैली, प्रभावशाली संवाद प्रस्तुति र दमदार व्यक्तित्वका कारण उनी नेपाली सिनेमामा छुट्टै पहिचान बनाउन सफल भएका थिए ।
लामो समयदेखि नेपालीसँगै भारतीय चलचित्र उद्योगमा पनि सक्रिय रहेका थापाले विभिन्न स्मरणीय भूमिकामार्फत दर्शकको मन जितेका थिए । उनका अभिनयले नेपाली चलचित्र क्षेत्रमा व्यावसायिकता र विविधता थप्न सहयोग पुगेको चलचित्रकर्मीहरू बताउँछन् ।
पारिवारिक सदस्यहरू भारतको मुम्बईमा बस्दै आए तापनि थापा काठमाडौंको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । उनको निधन नेपाली सिने जगतका लागि अपूरणीय क्षति भएको कलाकार संघका अध्यक्ष निरौलाले बताएका छन् ।
वरिष्ठ अभिनेता थापाको निधनसँगै नेपाली चलचित्र क्षेत्रले एक कुशल, अनुभवी र समर्पित कलाकार गुमाएको छ । उनको योगदान र अभिनय सधैं दर्शकको स्मृतिमा रहने विश्वास गरिएको छ ।