काठमाडौँ । हिन्दू धर्मशास्त्रअनुसार मंगलबार भगवान् श्रीगणेशको पूजा, अर्चना र व्रत बस्न अत्यन्तै फलदायी मानिन्छ। कुनै पनि शुभ कार्यको प्रारम्भ गर्नु अघि सर्वप्रथम गणेश पूजन गर्ने परम्परा सनातनकालदेखि चल्दै आएको छ। विघ्नहर्ता तथा मंगलकर्ता मानिने भगवान् गणेशको पूजा गर्दा कार्य सफल हुने धार्मिक विश्वास रहिआएको छ।
विशेषगरी मंगलबार भगवान् श्रीगणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। यस दिन शुद्ध मन, श्रद्धा र विश्वासका साथ पूजा–आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। मंगलबार व्रत बसेर गणेशजीको पूजा गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता रहेको छ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान् गणेशको पूजा विधि १६ चरणमा सम्पन्न गरिन्छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा, आरती तथा परिक्रमा पर्दछन्। यी सबै विधि शुद्ध र एकाग्र मनले संकल्प गरी सम्पन्न गर्नुपर्ने उल्लेख छ।
मंगलबार गणेश पूजा गर्दा विशेष लाभ मिल्ने विश्वास सदियौँदेखि चल्दै आएको छ। पछिल्ला वर्षहरूमा मंगलबार भगवान् गणेशको पूजा गर्ने भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ।
धर्मशास्त्रअनुसार मंगलबार केही कार्यहरू वर्जित मानिन्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु बुद्धि भ्रमित हुने संकेत मानिन्छ। यसैगरी माछा, मासु सेवन गर्दा आर्थिक हानि हुने तथा मदिरा सेवन गर्दा क्रोध र नकारात्मकता बढ्ने विश्वास गरिन्छ। त्यसैले मंगलबार संयमित जीवनशैली अपनाउन शास्त्रले सुझाएको छ।
भगवान् गणेशलाई लड्डु अत्यन्त प्रिय मानिन्छ। यस सम्बन्धमा पद्यपुराणमा उल्लेख गरिएको एक पौराणिक कथा प्रचलित छ। कथा अनुसार एकपटक देवताहरूले पार्वती मातालाई अमृतबाट बनेको दिव्य लड्डु उपहार दिएका थिए। लड्डु देखेपछि कुमार कार्तिकेय र गणेशजीले मातासँग त्यसको माग गरे। त्यसपछि पार्वती माताले धर्माचरण र श्रेष्ठताको परीक्षा लिँदै भन्नुभयो— जसले सबै तीर्थहरूको भ्रमण गरेर पहिला फर्किन्छ, उसैलाई लड्डु प्रदान गरिनेछ।
कुमार कार्तिकेय मयुरमा सवार भई सबै तीर्थको स्नान गरेर छिट्टै फर्किए। तर गणेशजी आफ्नो वाहन मुसा भएकाले तीर्थ भ्रमण गर्न नसक्ने अवस्थामा थिए। त्यसपछि गणेशजीले श्रद्धापूर्वक माता–पिताको परिक्रमा गर्नुभयो। यो देखेर पार्वती माताले माता–पिताको पूजा नै सबै तीर्थ, व्रत, यज्ञ र साधनाभन्दा श्रेष्ठ हुने बताउँदै लड्डु गणेशजीलाई अर्पण गर्नुभयो।
यस कारण लड्डु गणेशजीको माता–पिताप्रतिको भक्ति र सम्मानको प्रतीक मानिन्छ। गणेश भगवानलाई लड्डु अर्पण गर्दा यो भाव स्मरण गर्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ।
‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान भएकाले गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन्। उहाँलाई विघ्नेश्वर, विनायक तथा गणनायकका रूपमा पनि पूजा गरिन्छ। सबै विघ्न–बाधा हटाउने र कार्य निर्विघ्न सम्पन्न गराउने देवताका रूपमा गणेशजीको विशेष महत्त्व रहेको छ।
भगवान् गणेशलाई मंगलदाता मानिन्छ। उहाँ गुण, शक्ति र सद्गुणको खानी हुनुहुन्छ। त्यसैले गणेशजीको पूजा हाम्रो सोच, व्यवहार र जीवनलाई सकारात्मक दिशामा डोर्याउने माध्यमका रूपमा लिइन्छ।
भगवान् गणेशको पूजा गर्दा जप गर्न सकिने केही प्रमुख मन्त्रहरू पनि उल्लेख गरिएको छ। यी ११ मन्त्र जप गर्दा गणेश भगवान् शीघ्र प्रसन्न भई जीवनमा सफलता प्रदान गर्ने विश्वास छ।
१) श्री गणेशाय नमः २) ॐ श्री गणेशाय नमः ३) गं गणपतये नमः ४) ॐ गं गणपतये नमः ५) ॐ गं ॐ गणाधिपतये नमः ६) ॐ सिद्धि विनायकाय नमः ७) ॐ गजाननाय नमः ८) ॐ एकदन्ताय नमो नमः ९) ॐ लंबोदराय नमः १०) ॐ वक्रतुंडाय नमो नमः ११) ॐ गणाध्यक्षाय नमः