Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी चहलपहलबीच देउवाको मौनता, कांग्रेसभित्र शक्ति सन्तुलनको नयाँ तस्वीर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १९ २०८२
  • 1.7K
    SHARES

काठमाडौँ । देशभर प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र बनेको छ। कांग्रेसका उम्मेदवारहरू घरदैलो, कोणसभा र जनसम्पर्कमा व्यस्त देखिन्छन्। तर यही भीडभाड र राजनीतिक हलचलको बीच कांग्रेसका वरिष्ठ नेता तथा पाँच पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा भने पूर्ण रूपमा मौन छन्। न त उनी चुनावी कार्यक्रममा देखिएका छन्, न त सार्वजनिक सन्देशमार्फत आफ्नो धारणा राखेका छन्।

शुक्रबार सहिद दिवसजस्तो राष्ट्रिय महत्वको दिनमा समेत देउवाबाट कुनै शुभकामना सन्देश नआउनुले उनको मौनतालाई थप अर्थपूर्ण बनाएको छ। विशेष महाधिवेशनपछि गगन थापाले कांग्रेसको नेतृत्व सम्हालेसँगै देउवा बालुवाटारस्थित निजी निवासमै सीमित बनेका छन्। निर्वाचन आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई औपचारिक मान्यता दिएपछि देउवाको असन्तुष्टि झनै गहिरिएको कांग्रेसभित्र चर्चा छ।

देउवाले न त नवनिर्वाचित सभापति थापालाई सार्वजनिक रूपमा बधाई दिएका छन्, न त सामाजिक सञ्जालबाट आफूलाई अझै ‘सभापति’ भनेर चिनाउने परिचय हटाएका छन्। यसले पार्टीभित्र पुरानो नेतृत्व र नयाँ नेतृत्वबीचको दूरी अझै घटिनसकेको संकेत गर्छ।

देउवा निकट स्रोतका अनुसार सत्ता, प्रभाव र संगठनात्मक नियन्त्रण गुमाउँदाको पीडा उनलाई सहज रूपमा स्वीकार्य छैन। यो असन्तुष्टि ५ माघको मध्यरातमा चरममा पुगेको थियो। एकातर्फ थापा नेतृत्वको केन्द्रीय समितिलाई अवैधानिक ठहर गर्दै अदालतको ढोका ढक्ढक्याएका देउवा, अर्कोतर्फ सोही नेतृत्वको हस्ताक्षरमा चुनावी टिकट पाइने आशामा अन्तिम समयसम्म प्रतीक्षामा थिए।

गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत सिफारिस हुँदाहुँदै पनि नयाँ नेतृत्वले देउवालाई उम्मेदवार नबनाउने निर्णय गरेपछि उनको राजनीतिक यात्रामा अप्रत्याशित मोड आएको छ। राति करिब १२ बजेसम्म टिकटको पर्खाइमा बसेका देउवा अन्ततः उम्मेदवार नबन्ने घोषणा गर्न बाध्य भए। त्यसपछि डडेलधुराबाट नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई टिकट दिइयो।

यद्यपि, देउवा समूहबाट सिफारिस भएका विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशशरण महतलगायत ३५ जना नेताले टिकट पाएका छन्। तर स्वयं देउवा चुनावी दौडबाट बाहिरिएपछि उनका समर्थकहरूमा निराशा र अन्योल देखिएको छ।

डडेलधुरामा देउवाको अभाव

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिट अझै विचाराधीन अवस्थामा छ। अदालतले अन्तरिम आदेश नदिई अग्राधिकारका आधारमा सुनुवाइ अघि बढाएको छ। यही प्रक्रियाबाट आफूअनुकूल फैसला आउने अपेक्षामा देउवा अझै रहेका छन् र आफ्ना निकट नेताहरूलाई धैर्य राख्न आग्रह गरिरहेका छन्।

तर, २०४८ सालदेखि देउवालाई लगातार जिताउँदै आएको डडेलधुरा भने अहिले नेतृत्वविहीनजस्तो अनुभूति गरिरहेको छ। देउवाको स्थानमा टिकट पाएका नैनसिंह महर स्वयं पनि देउवाको अनुपस्थितिले मतदातामा परेको प्रभाव स्वीकार गर्छन्। उनका अनुसार देउवा त्यहाँका लागि केवल नेता मात्र होइन, अभिभावकको भूमिकामा रहेका छन्।

थापाको सन्देश र पार्टीभित्रको यथार्थ

उता, कांग्रेस सभापति गगन थापा भने पार्टी एकताबद्ध रहेको सन्देश दिन सक्रिय छन्। धनुषामा आयोजित चुनावी सभामा थापाले देउवासँग निरन्तर संवाद भइरहेको दाबी गर्दै विगतका विवादमा अल्झिनु उचित नहुने बताएका छन्। साथै, उनले निर्वाचनमा अन्तर्घात वा असहयोग भए कडा अनुशासनात्मक कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

तर, व्यवहारिक रूपमा हेर्दा पुरानो संस्थापन पक्ष र नयाँ नेतृत्वबीच अझै दूरी कायम छ। मञ्च व्यवस्थापन, पदीय मर्यादा र २३ भदौको ‘जेनजी विद्रोह’लाई हेर्ने दृष्टिकोणमा देखिएको फरकले पार्टीभित्र असहजता सिर्जना गरिरहेको छ। तत्कालीन प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पदक्रम र सम्मानको विषय नमिल्दा चुनावी मञ्च साझा गर्नसमेत कठिनाइ देखिएको छ।

चुनावी मैदानमा कांग्रेस अघि बढिरहेको छ, तर देउवाको मौनता र असन्तुष्टि भने पार्टीभित्रको सबैभन्दा ठूलो अनुत्तरित प्रश्न बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४