कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको संख्या निरन्तर बढ्दो देखिएको छ। सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार भए पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावले तराई झर्ने क्रम रोकिएको छैन।
नगरपालिकाको सूचना तथा प्रविधि शाखाका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कुल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन्। आव २०७९/८० मा १,०१२ जना भित्रिएका थिए भने २०८०/८१ मा यो संख्या घटेर ९३५ पुगेको थियो। तर, आव २०८१/८२ मा पुनः बढेर १,०९८ पुगेको छ।
बसाइँ सरेर आउनेहरूको आकर्षण मुख्यतया बजार क्षेत्र र बजार विस्तार भएका वडातर्फ केन्द्रित रहेको छ। सूचना तथा प्रविधि शाखा प्रमुख लोगराज भट्टका अनुसार वडा नम्बर ८, १० र ११ मा जनघनत्व तीव्र रूपमा बढेको छ। आव २०८१/८२ मा वडा नम्बर ८ मा सबैभन्दा बढी १६४ जना भित्रिएका छन्। त्यस्तै, वडा नम्बर ११ मा १३५, वडा नम्बर ७ र ५ मा समान १२५ र वडा नम्बर १० मा ११८ जना भित्रिएका छन्। यसअघि २०८०/८१ मा वडा नम्बर ८ मा सबैभन्दा बढी १९७ जना भित्रिएका थिए।
बसाइँ सरेर आउने अधिकांश व्यक्ति सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका रहेका छन्। त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको संख्या उल्लेख्य देखिएको छ। अधिकांश बसाइँ सरेर आउने पहाडी समुदायका नागरिक हुन् भने आदिवासी थारु समुदायको सहभागिता न्यून देखिएको छ।
यता, नगरपालिका क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेहरूको संख्या पनि बढ्दो छ। आव २०७९/८० मा ३८८, २०८०/८१ मा ३५४ र आव २०८१/८२ मा ५२२ जना बाहिरिएका छन्। तथापि, बाहिरिनेको तुलनामा भित्रिनेको संख्या झण्डै दोब्बर बढी देखिन्छ।
नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐरका अनुसार, “पहाडी क्षेत्रमा आधारभूत सेवा त पुगेका छन्, तर रोजगारीका अवसर र आर्थिक आत्मनिर्भरता अभाव हुँदा मानिसहरू सहज जीवनयापन र अवसर खोजीमा बजार र सडक पहुँच भएका क्षेत्रमा केन्द्रित भइरहेका छन्।”
उनले थपे, “अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्दै गएको छ। यसले खेतीयोग्य जमिन खण्डीकरण गर्ने र सहरी सेवामाथि चाप पर्ने चुनौती थप्दैछ। यदि यस्ता प्रवृत्ति निरन्तर रहिरह्यो भने, नगरपालिकाले दीर्घकालीन योजनाको आवश्यकतालाई नजरअन्दाज गर्न सक्दैन।”
विशेषज्ञहरूका अनुसार, पहाडी क्षेत्रका युवा र परिवारहरू रोजगारी र सामाजिक–सुविधाको खोजीमा तराई झर्छन्। “पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य र सडक पुगेका छन्, तर स्थानीय उत्पादन, उद्योग र कृषि आम्दानी पर्याप्त नभएको कारण युवाहरू स्थायी रोजगारी र जीवनस्तरको सुधारको आशामा तराईतिर झर्छन्,” सोसल–इकोनोमिक विश्लेषक हरिशरण भट्टले बताए।
नगरपालिकाले भने बसाइँसराइको प्रवृत्तिलाई व्यवस्थापन गर्ने योजना बनाइरहेको जनाएको छ। जनसंख्या वृद्धिसँगै बजार, शिक्षा, स्वास्थ्य र सरसफाइ जस्ता सेवामा दबाब बढ्ने भएकाले दीर्घकालीन पूर्वाधार विकास र रोजगारी सृजना योजनामा जोड दिनुपर्ने देखिन्छ।
यो प्रवृत्तिले न केवल सामाजिक–आर्थिक संरचनामा असर पारिरहेको छ, तर स्थानीय कृषि, जमिन व्यवस्थापन र शहरीकरणको गतिशीलतालाई पनि प्रभावित गरिरहेको छ। नगरपालिकाका लागि अब चुनौती भनेको बसाइँसराइको व्यवस्थापन, सहरी सेवा विस्तार र रोजगारी सृजना हो, ताकि तराई क्षेत्रको जनघनत्व असन्तुलन नबढोस् र पहाडी क्षेत्रको विकास पनि सुनिश्चित होस्।