काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा थप प्रमाण र कागजात पेश गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो लामिछानेसम्बन्धी मुद्दा संशोधन गर्नुपर्ने आधारसहितका प्रमाण पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई निर्देशन दिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले अभियोगपत्र दायर भइसकेपछि थप प्रमाण फेला परेकाले मुद्दा संशोधन प्रक्रियामा लैजान सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन्।
महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल र कानुनका विद्यार्थी आयुष बडाललगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयबाट थप प्रमाण प्राप्त भएपछि मात्र अन्तरिम आदेशबारे छलफल हुने स्पष्ट गरेको छ।
हाल रवि लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा विचाराधीन रहेका छन्।