Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीपञ्चमी पर्व देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै, सरस्वती पूजा र अक्षरारम्भको विशेष महत्व


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १० २०८२
  • 1.2K
    SHARES

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गर्दै शुक्रबार देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ। वसन्त पञ्चमीका अवसरमा सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ।

यस अवसरमा देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन रहेको छ भने आज लेखपढ सुरु गराए राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ।

चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, वागीश्वरी, जगन्माता, वरदायिनी, बुद्धिदात्रीलगायत विभिन्न नामले पुकार्ने गर्छन्। विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले आफ्ना कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मानी पूजा आराधना गर्ने चलन छ। तान्त्रिक साधकहरूले भने तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन्।

सूर्य उत्तरायण लागेर दिन लम्बिन सुरु हुने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका कारण आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी सरस्वतीको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ। गान्धर्व पुराणमा आजका दिन सरस्वती पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ।

आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्यका लागि साइत हेर्नु नपर्ने विश्वास भए पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म नगरिने जनाइएको छ। यस दिन बालबालिकालाई शिक्षा आरम्भ गराउनुका साथै नाक र कान छेड्ने चलन पनि रहेको छ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती तथा ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा विशेषगरी विद्यार्थीहरूको घुइँचो लागेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि प्रखर हुने धार्मिक विश्वास छ।

यसै अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा अनुसार शुक्रबार बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख तथा सदस्यहरूको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४