काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल भइरहेको बताइएको छ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुने भएकाले एमालेले उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्। यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्।
सिफारिसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि बढाइएको जनाइएको छ। हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नका उम्मेदवार अघि बढाउने भएको छ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिएको थियो। प्रतिनिधिसभा निर्वाचनको मतदान आगामी फागुन २१ गते हुने कार्यतालिका रहेको छ।