काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्ति र पार्टीभित्र मौलाउँदै गएको समानान्तर गतिविधिलाई लिएर कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीले ‘राजतन्त्र फर्कन सक्ने’ आशयको अभिव्यक्ति दिएकोमा आश्चर्य प्रकट गरेका छन् । उनले मुलुकको सर्वोच्च पदमा आसिन भइसकेको व्यक्तिले नै आफू उभिएको लोकतान्त्रिक धरातलमाथि संशय व्यक्त गर्नु उदेकलाग्दो भएको बताएका हुन् । ज्ञवालीले प्रश्न गरेका छन्, ‘पूर्वराष्ट्रपतिको भनाइ सुन्दा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रतिको विश्वास किन यसरी डगमगाएको होला ?’
ज्ञवालीले पूर्वराष्ट्रपतिको प्रसङ्गसँगै एमालेभित्र महाधिवेशन लगत्तै देखिएको आन्तरिक किचलोप्रति पनि गम्भीर असन्तुष्टि जनाएका छन् । भर्खरै सम्पन्न महाधिवेशनले नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको अवस्थामा केही नेताहरूले छुट्टै भेला आयोजना गर्नुलाई उनले ‘अपेक्षित नभएको’ संज्ञा दिएका छन् । ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, यसको फैसला अन्तिम हुनुपर्छ,’ ज्ञवालीले लेखेका छन्, ‘यदि महाधिवेशनपछि पनि मुद्दाहरू कायमै रहने हो र नेतृत्वलाई चुनौती दिइरहने हो भने पार्टी अन्त्यहीन बहसको क्लबमा मात्र सीमित हुनेछ ।’
नेता ज्ञवालीले नेतृत्वको वैधता र सान्दर्भिकतामाथि प्रश्न उठेकै कारण तोकिएको समयभन्दा एक वर्ष अगाडि नै महाधिवेशन गरिएको स्मरण गराउँदै अब पुरानै विवाद बल्झाउनुको कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् । उनले पार्टीभित्र अझै पनि ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ जस्ता पुराना मानसिकता (ब्यागेज) बोकेर हिँड्दा कतै नपुगिने चेतावनी दिएका छन् ।
पछिल्लो तीन महिनामा एमालेले आफूलाई पुनर्जीवित गर्दै एउटा लयमा ल्याएको दाबी गर्दै उनले अबको सम्पूर्ण ऊर्जा लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, सुशासन र समृद्धिको यात्रामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । विरासत जोगाउने नाममा पुरानै एजेन्डा र आन्तरिक कलहमा अल्झिनु लोकतन्त्र र राष्ट्रिय स्वाभिमानका लागि अनुचित हुने ज्ञवालीको तर्क छ ।