काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटनसँगै सुरु भएको महाधिवेशनको बन्दसत्र आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।
महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका मुख्य कार्यक्रमहरू आज (सोमबार) तय भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सार्वजनिक गरेको कार्यतालिका अनुसार नेतृत्वका लागि आकांक्षी उम्मेदवारहरूले आज बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्नेछन्।
यस्तो छ आजको चुनावी कार्यतालिका
निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनका कार्यक्रम तय गरेको छ। बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि १०:३० देखि १:३० बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
दिउँसो २:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ। उम्मेदवारविरुद्ध उजुरी दिन चाहनेका लागि दिउँसो २:३० देखि ३:०० बजेसम्म समय तोकिएको छ। दाबी–विरोध तथा फिर्ता प्रक्रिया सम्पन्न भएपछि आजै साँझ ६:०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
भोलि मतदान
महाधिवेशनको मुख्य आकर्षण मानिएको नेतृत्व चयनका लागि मतदान भने भोलि (मंगलबार) हुनेछ। निर्वाचन तालिकाअनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
