काठमाडौँ — नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वसाधारणलाई ललाइफकाई भारतसम्म पुर्याई मिर्गौला बेच्ने गिरोहमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा रामेछाप मन्थली नगरपालिका–१६ का ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरी इटहरी नगरपालिका निवासी ४७ वर्षीय नारायण वन रहेका छन्। दुवैजनालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूले रोजगार र पैसाको प्रलोभन देखाई सर्वसाधारणलाई भारत लैजाने र त्यहाँ विभिन्न अस्पतालमार्फत मिर्गौला अवैध रूपमा बिक्री गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रवक्ता भट्टराईका अनुसार पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको छ।
प्रहरीले मानव अङ्ग बेचबिखनजस्तो संवेदनशील अपराधमा संलग्न अन्य व्यक्ति र समूहको खोजी कार्यलाई थप तीव्र बनाइएको जनाएको छ। साथै प्रहरीले सर्वसाधारणलाई रोजगारी वा आर्थिक लाभको नाममा आउने शंकास्पद प्रस्तावबाट सचेत रहन आग्रह गरेको छ।