Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बडा दशैं : आज घरघरमा फूलपाती भित्र्याइँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १३ २०८२
  • 6.1K
    SHARES

काठमाडौं । नेपालीहरूको महान् चाड बडा दशैंको सातौं दिन आज देशभर घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने यो परम्पराले दशैंको रौनकलाई अझ बढाएको छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपातीमा नौवटी देवीको प्रतीकको रूपमा नवपालुवाहरूलाई भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधना गरिन्छ। धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार, ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्।’ फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने ऐतिहासिक परम्परा छ। यस वर्षको फूलपाती अपराह्न हनुमानढोकामा भित्र्याइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन्। जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले यसलाई ल्याउने गर्दछन्। जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा भव्य शोभायात्राका साथ फूलपाती भित्र्याइन्छ।

शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर फूलपाती लिन गएको थियो। जीवनपुरबाट स्वयम्भू हुँदै राजधानी आइपुगेको समूहले स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरेको छ। जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी फूलपाती भित्र्याउने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैंको सामाजिक चहलपहल आजैका दिनदेखि अझ तीव्र भएको छ। आजैदेखि सरकारी कार्यालयहरू पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरू सपरिवार दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम बढेको छ।

यससँगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ। सधैं व्यस्त रहने सडकहरूमा गाडीको संख्या पातलिंदै गएको छ। गाउँघरमा भने लिङ्गेपिङ, रोटेपिङ र चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्पराले दशैंको रौनकलाई अझ बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४