गोकुलगंगा गाउँपालिका सम्बाददाता
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षको हालसम्मको वित्तीय प्रगति विवरण, आम्दानी/खर्च र सेवा प्रवाहको बारेमा जानकारी दिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले चालु आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम तथा योजना मध्ये ६० प्रतिशत आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरि भुक्तानी गरेको जानकारी दिनुभयो ।
गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष ठेक्का प्रक्रियाबाट ९ वटा र उपभोक्ता समितिमार्फत सञ्चालन हुने २५४ वटा गरी जम्मा २६३ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये गाउँपालिकाको प्रशासनिक भवन र चिस्यान केन्द्रको निर्माण कार्य क्रमागत रुपमा संचालनमा रहेको छ ।
ठेक्का प्रकृया मार्फत सञ्चालन हुने सबै योजनाको सम्झौता भएर कार्यान्वयन भैरहेको पालिकाको योजना शाखा प्रमुख रामकुमार कार्कीले बताउनुभयो ।
उहाँका अनुसार उपभोक्ता समिति मार्फत हुने २५४ वटा योजनाहरु मध्ये २५० वटा अर्थात ९८.४८ प्रतिशत सम्झौता सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अन्तिम चरणमा रहेकोले धेरै योजनाहरु सम्पन्न हुने चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाई छ । चालु आर्थिक वर्ष पालिका भित्र सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको अन्तिम भुक्तानी आगामी असार १० गते भित्र गरिसक्ने पालिकाको लक्ष्य छ ।
आगामी आर्थिक वर्षको योजना निर्माण तथा बजेट तर्जुमा गर्ने बेला आयोजना गरिएको सार्वजनिक सुनुवाईमा स्थानीय राजनीतिक दल र नागरिकहरुले गुनासा राख्नुको साथै सुझाव राखेका थिए । उक्त गुनासा तथा सुझावहरुको जवाफ दिँदै पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले आफुहरु समाज सेवाकै लागि निर्वाचित भएर आएको भन्दै सधैं नागरिक र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले हाल सम्म गलत नियतले काम नगरेको भन्दै कतै काम गर्ने क्रममा त्रुटी भएमा सुधार गर्दै लैजाने पनि बताउनुभयो । कार्यक्रममा पालिका उपाध्यक्ष उषादेवी कार्की र सबै वडाका वडाध्यक्ष तथा वडा सदस्य, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानीय नागरिकहरुको सहभागीता थियो ।
यस्तो छ, चालु आर्थिक वर्ष संचालन भएका गोकुलगंगा गाउँपालिकाको योजना तथा कार्यक्रमहरु
१) वडा नम्बर ६ फर्पुमा बाँसबाट बन्ने हस्तकला सम्वन्धि ५० दिने तालिम ८ जना महिलाहरुलाई प्रदान गरिएको छ ।
२) वडा नम्बर ६ फर्पुमा मौसमी तथा बेमौसमी तरकारी खेति सम्वन्धि तालिम १० जना महिला र ८ जना पुरुष गरि जम्मा १८ जनालाई प्रदान गरिएको छ ।
३) वडा नम्बर ४ बेतालिमा मौरी पालन सम्वन्धि १५ दिने तालिम १७ जनालाई प्रदान गरिएको छ ।
४) वडा नम्बर ४ बेतालिमा १७ वटा मौरीको घार वितरण गरिएको छ ।
५) वडा नम्बर ३ रस्नालुमा एडभान्स सिलाई कटाई सम्वन्धि तालिम ९ जना महिलाहरुलाई प्रदान गरिएको छ भने २ वटा सिलाई मेशिन समेत वितरण गरिएको ।
६) कृषि कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १९ जना कृषकहरुलाई धान, गहुँ र कोदो कुट्ने थ्रेसर मेशिन वितरण गरेको छ ।
७) हालसम्म गाउँपालिकाबाट वितरण भएको मिनी टिलर (हाते ट्रयाक्टर) को हरेक वडा वडामा सो सम्वन्धि दक्ष मिस्त्री मार्फत मर्मत तथा दुई दिने मर्मत तालिम संचालन सुरु हुदै छ ।
८) किसान सूचीकरण कार्यक्रम सम्पन्न भएको छ ।
९) सेतो सिमि बीउ खरिद तथा प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
१०) कृषि विषादि खरिद तथा वितरण भएको छ ।
११) अदुवा बेसार प्रबद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
१२) युवा सिपमुलक कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका २० जना युवा युवतीहरुलाई बारिस्टा र २० जना युवायुवतीहरुलाई हलुका सवारीचालक सम्वन्धि तालिम सम्पन्नभएको भएको छ ।
१३) गाउँपालिकाको आवधिक योजना, डिजीटल प्रोफाइल र घर नम्बर प्लेट टास्ने कार्य संचालन भईरहेको छ ।
१४) आयुर्बेद सेवा केन्द्र बाट २३ प्रकारका आयुर्वेदिक औषधिहरु सहित स्वास्थ्य सम्वन्धि परामर्श गाउँपालिकाबाट निशुल्क रुपमा गरिदै आएको छ ।
१५) पशु स्वास्थ्य अन्तर्गत १० प्रकारका इन्जेक्सन र २५ प्रकारका औषधिहरु सहित पशु स्वास्थ्य सम्वन्धि परामर्श पशु प्राबिधिक मार्फत निशुल्क रुपमा गरिदै आएको छ ।
१६) स्वास्थ्य सेवाअन्तर्गत ज्येस्ठ नागरिक सँग घर घरमा स्वास्थ्यकर्मी कार्यक्रम सम्पन्न भएको छ ।
१७) सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा कार्यक्रम निरन्तर चलिरहेको छ ।
१८) पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ ।
१९) आखाँ शिविर सम्पन्न भएको छ ।