Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘राजा आऊ’ भन्दै बालुवाटार धाउनेहरू, गणतन्त्रमा राजतन्त्रको रिहर्सल?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १९ २०८२
  • 1.9K
    SHARES

काठमाडौं । हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै गणतन्त्र दिवस (जेठ १५) देखि सुरु भएको आन्दोलन तेस्रो दिन शनिबार थप उग्र बन्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा केन्द्रित भयाे । पूर्व निर्धारित कार्यक्रमअनुसार नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको राजावादी समूहलाई प्रशासनले उक्त क्षेत्रमा जान रोक लगाएपछि आन्दोलनकारीहरू बालुवाटारतर्फ मोडिएका हुन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ नै दरबारमार्ग र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । यसका कारण राजावादीहरूले आफ्नो पूर्वनिर्धारित स्थानमा सभा गर्न पाएनन् । त्यसपछि उनीहरू शान्तिबाटिकामा भेला भई रत्नपार्कबाट विशाल जुलुससहित नक्साल हुँदै बालुवाटार पुगेका थिए । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्चपदस्थ व्यक्तिहरूको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै संवेदनशील क्षेत्र घोषणा गरिसकेको छ ।

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायत हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि गठित विभिन्न जनआन्दोलन समितिका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर गणतन्त्र र वर्तमान व्यवस्थाविरुद्ध चर्का नाराबाजी गरेका थिए । संवेदनशील क्षेत्रमा प्रदर्शनकारी पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर धकेलाधकेल र सामान्य झडपसमेत भएको थियो । प्रहरीले राजसंस्था पक्षधरको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ, यद्यपि पक्राउ पर्ने व्यक्तिको परिचय भने खुलाइएको छैन ।

राजसंस्था पक्षधरहरूको यो आन्दोलन र प्रदर्शनलाई लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच कडा शब्दमा वाकयुद्ध चलेको छ, जसले मुलुकको राजनीतिक वातावरण थप तरंगित बनाएको छ । राप्रपा अध्यक्ष लिङ्देनले सरकार राजावादीहरूको आन्दोलनबाट डराएर हठातमा निषेधित क्षेत्र घोषणा गरेको आरोप लगाए । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधरहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो, सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो ।’

उनले यो कदमले आफूहरूको आन्दोलनलाई झनै उत्साहित तुल्याएको र आगामी कार्यक्रमहरू थप सशक्त बनाइने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीहरूले भाडामा मान्छे ल्याएको भन्ने टिप्पणीको जवाफ दिँदै लिङ्देनले त्यो प्रचण्डको आफ्नै विगतको अनुभव हुन सक्ने व्यंग्य गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले अनावश्यक रूपमा संविधानविरोधी गतिविधि गरिरहेको र जनतालाई उक्साइरहेको आरोप लगाए । नुवाकोटको विदुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो व्यवस्थालाई आत्मसात गर्न नसक्ने शक्तिहरूले संविधानविरोधी गतिविधि गरिरहेका छन् ।’ उनले आगामी २०८४ सालको निर्वाचनमा बहुमतसहित जितेर देशको शासन सत्ता आफ्नो हातमा लिन राजसंस्था पक्षधरलाई चुनौती दिए । त्यसअघि प्रचण्डले राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको र ‘पृथ्वी पथ’ले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाएको भन्दै कडा टिप्पणी गरे । शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समय हो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै ओलीले १३औँ सन्तानले राजा हुन पृथ्वी पथको युक्ति निकालेको टिप्पणी गरे । उनले आजको समय राजा, रजौटा र तानाशाहहरूको नभई लोकतन्त्र र लोकतान्त्रीकरणको समय भएको जिकिर गरे । यो प्रदर्शन र शीर्ष नेताहरूबीचको तिक्ततापूर्ण अभिव्यक्तिले आगामी दिनमा राजनीतिक ध्रुवीकरण थप बढ्न सक्ने संकेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४