Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निहत्था नागरिकविरुद्ध राज्यको अपराध ! दाजुबहिनीमाथि अनाहकमा गोली प्रहार ! रेविका मृत्युसंग लड्दै !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १८ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । रेविका खत्री बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारत छिन् । प्रहरीको गोलीले तिघ्रा वारपार पारेपछि कोटेश्वरको सडकबाट उनी एकैपटक अस्पतालको आईसीयूमा आइपुगिन् ।

निमेषभरमा घटेको यस्तो आकस्मिक र अकल्पनीय घटनाबारे रेविकाले कल्पनासम्म गरेकी थिइनन् । न उनलाई राजनीतिमा उस्तो चाख थियो न त गत शुक्रबार राजावादीहरूले गरेको आन्दोलनबारे धेरै भेउ पाएकी थिइन् । उनी आफ्नै पढाइमा र काममै व्यस्त रहन्थिन् । जडिबुटीको ग्रोसरीमा काम गरेर खर्चको जुगाड गर्थिन् । कोटेश्वर बहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् ।

गत १५ गते राजावादी र सुरक्षाकर्मीबीच भएको झडपको घानमा परिन् रेविका । तीनकुनेबाट फैलिएको राजावादीको आन्दोलन हिंसात्मक बन्यो । सुरक्षाकर्मीले लाठी चार्ज, अश्रुग्याँस र गोली प्रहार गरे । आन्दोलनकारीले ढुंगामुढा, तोडफोड र आगजनी गरे ।

रेविका आन्दोलनमा सहभागी नै थिइनन् । आन्दोलनकारीको भिडमै थिइनन् उनी त ! आफूलाई के कति कारणले गोली हानियो, उनलाई अत्तोपत्तो छैन ।

कामबाट आफ्नो कोठामा फर्किँदै थिइन् रेविका । बाटाेभरि सुरक्षाकर्मी दाैडादाैड गरिरहेकाे देखेपछि उनी डराइन् । फाेन गरेर दाइ दिनेशलाई लिन बाेलाइन् । दिनेश बहिनीलाई लिन डेराबाट आए । दाजु बहिनी मुल सडकमा भेटिए र हात समातेर गल्लितिर लागे । तर काेठामा पुग्नै लाग्दा ड्यामड्याम गाेली पड्कियाे । दुवै दाजु बहिनीलाई गाेली लाग्याे । रेविका सडकमै ढलिन् ।

गाेली लागेर रेविकाकाे तिघ्रा छेडिएकाे थियाे । लगभग क्षतविक्षत भएकाे थियाे । रगतकाे भेल बग्याे । दाइलाई पनि तिघ्रामा गोली पस्यो ।

आफैं गोली खाएका दिनेशले जसोतसो थिग्रिएर बहिनीलाई नजिकै क्लीनिकसम्म पुर्याएँ । त्यहाँ ब्यान्डेज गरेर सिभिल अस्पताल लगियो । रेविका अर्धवेहाेश थिइन् ।

अहिले सिभिल अस्पतालमा दुवैकाे उपचार भइरहेको छ । रेविका अझै खतरामुक्त भएकी छैनन् । दाइकाे अवस्था तुलनात्मकरुपमा राम्राे छ ।

उनीहरूको उपचार खर्च आजका दिनसम्म परिवारले नै व्यहोरिरहेको छ । हिजोमात्रै बिरामीका आफन्तले निःशुल्क उपचारका लागि अस्पताल प्रशासनमा निवेदन दिएका छन् ।

‘आजसम्म त हामीले नै खर्च गरेका हौं । अब आन्दोलनमा घाइते भएकाहरूको उपचार गर्ने भनेर सरकारले भनेको रहेछ । अस्पताल प्रशासनले मन्त्रालयबाट लेटर आएपछि निःशुल्क गर्ने भनेर भनेको छ’, रेविकाकी जेठी दिदी अनिता खत्रीले भनिन्, ‘नानीको स्वास्थ्यपछि उसको भविष्यको चिन्तासमेत भइरहेको छ ।’

अहिले प्रहरीले अस्पतालमा आएर के कसो भइरहेको छ भनेर सोधखोजसमेत गरिरहेको उनले बताइन् । साथै रेविकाले न्याय पाउनुपर्छ भनेर सञ्जालदेखि सडकसम्म कुरा उठिरहेको छ, तर यी मागहरू दोस्रो कुरा रहेको अनिता बताउँछिन् ।

उनले भनिन्, ‘सबैभन्दा पहिला त नानीको स्वास्थ्य ठीक हुनुपर्‍यो नि !’

रेविका र दिनेश दाजुभाइका छाेरा र छाेरी हुन् । त्यस दिन रेविका दिनेशकाे काेठामा बस्न भनेर आएकी थिइन् ।

बाँकी नै छ रेविकाको सर्जरी

गोली लागेपछि रेविकाको अवस्था गम्भीर बनेको थियो । अलिअलि बोले पनि रक्तस्राब अत्यधिक भयो । एम्बुलेन्समा हालेर अस्पताल ल्याइएको थियो ।

उनलाई भेन्टिलेटरमा राखियो । त्यसपछि आईसीयू र अहिले एमआईसीयूमा राखिएको छ । आजबाट भने रेविकाले अलिअलि बोल्न थालेको अनिताले बताइन् । बहिनीको स्वास्थ्यमा केही सुधार हुँदै गएको उनको भनाइ छ ।

अनिताले भनिन्, ‘आजबाट नानीले अलिअलि बोल्न सक्ने स्थिति बनेको छ । उनलाई भेन्टिलेटरमै राखे पनि डाक्टरहरूले डर मान्नुपर्दैन, तर खतरा चाहिँ टरिसकेको छैन भन्नुभएको छ ।

रेविका अलिअलि बोल्न थाले पनि उनको सर्जरीको लागि चाहिँ अझै समय लाग्ने अनिताले बताइन् । तिघ्रामा गोली लागेकाले खुट्टामा रगत सञ्चालनका लागि तलबाट माथिसम्मै चिरेर नशालाई सहज बनाउने कोसिस गरिएको उनले बताइन् ।

अहिले खुट्टामा राम्रैसँग रगत सञ्चालन भइरहेको बताउँदै उनले भनिन्, ‘गोली लागेको ठाउँमा सिलाइसकिएको छैन । घाउ सुकेपछि मात्रै सर्जरी हुन्छ ।’

‘डाक्टरहरूले पनि पहिला रेविकालाई गम्भीर अवस्थाबाट बाहिर ल्याउनुपर्छ भनेर जोड दिइरहेका छन्’, अनिताले भनिन्, ‘अहिले नानीको पल्सरेट पनि ठीक ठाउँमा आएको छ । ज्वरो पनि १०३-१०४ डिग्री थियो, अहिले नियन्त्रणमा आइरहेको छ ।’

रेविकाहरूले अनाहकमा थापेको गोली

आन्दोलनकारी र राज्य पक्षको द्वन्द्वमा बीचमा आमनागरिक कसरी पिसिन्छन् भन्ने पछिल्लो उदाहरण बनेका छन् रेविका र दिनेशकुमार । उनीहरूसँगै थप आधा दर्जन सर्वसाधारण घाइते भएको खबर आइरहेको छ । ससानो व्यवसाय गरेर जीवन निर्वाह गरिरहेका आमनागरिकदेखि त्यस क्षेत्रमा रहेका कर्पोरेट हाउससम्म आन्दोलनको चपेटामा परे ।

परिस्थिति अराजक बनेर जाँदा रेविकाहरू जस्ता ग्रोसरीमा काम गर्दै पढाइ खर्च जुटाइरहेका आमनागरिकले गोली थाप्नुपर्‍यो । आन्दोलन भएको क्षेत्रका निहत्था नागरिकहरू ज्यान जोगाउन भाग्नुपर्‍यो, लुक्नुपर्‍यो । विनाकारण आन्दोलनकारीले हानेको ढुंगा र प्रहरीले हानेको अश्रुग्याँस खानुपर्‍यो । आफू बस्ने ठाउँमै उनीहरूले असुरक्षित महसुस गर्नुपर्‍यो । कतिसम्म भने गल्लीमा कोठाभित्र पस्नेवेला रेविकाले गोली खानुपर्‍यो ।

रेविकाहरूकाे जिम्मा न राज्यले लिइरहेको छ न त आन्दोलनकारीहरूले । राज्य पक्ष र आन्दोलनकारीहरू एक-अर्कालाई दोषारोपण गरिरहेका छन् । रेविकाहरू अस्पतालमा गोलीले तछारेको घाउ सुक्ने प्रतीक्षामा छन् । राज्यले उपचार खर्च व्यहोर्ने भने पनि बाँकी भविष्य कस्तो हुने हो, रेविकालाई नै थाहा छैन । उनका आफन्तहरू रेविकाको आउँदा दिन सम्झेर चिन्तामा डुबेका छन् ।

रेविकाको न्यायका लागि कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आन्दोलन सुरु गरिसकेका छन् । कोटेश्वर क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकी रेविकाको उपचारपछिको जिम्मा पनि राज्यले लिनुपर्ने बताउँछन् ।

सञ्जयले भने, ‘उनीहरूलाई गोली लागेपछि प्रहरी प्रशासनले यस प्रकरणलाई गुपचुप राखेको पाइयो । सिभिल अस्पतालबाट ‘तपाईंको कलेजको घाइते विद्यार्थी छ’ भनेर मलाई फोन आएपछि पो थाहा पाएँ । उहाँको खुट्टामा गोली लागेर नशामा समस्या देखिएको रहेछ । भोलि हिँड्न नसक्ने अवस्था पनि आउन सक्छ भन्ने सुनिएको छ । यदि त्यस्तो भएको खण्डमा राज्यले सबै जिम्मेवारी लिनुपर्छ । उहाँको उपचारको मात्रै होइन, उपचारपछिको पनि जिम्मा राज्यले लिनुप¥यो । खुट्टा चलेको खण्डमा पनि र नचलेको खण्डमा पनि राज्यले जिम्मा लिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४