पुष्कर खड्का
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको सिमानामा गाडी दुर्घटना भएको छ। जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ र लिखु तामाकोसी गाउँपालिका वडा नं ६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना भएको हो ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीबाट भारतको जयपुर जाँदै गरेको भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार उक्त फोर्स गाडी ब्रेकको फेल भई सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका –४ बेताली बस्ने सुस्मा खड्का, लेखबहादुर खड्का, पूर्णबहादुर सार्की, सुजन भुजेल रहेका छन् ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका बस्ने तेजबहादुर खड्का, विष्णुदेवी खड्का, लालवन्दी नगरपालिका –१५ बस्ने कालीबहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार बाँकी यात्रु सकुशल रहेको र घाइतेको मन्थली अस्पतालमा उपचार भैरहेको बताएका छन् ।