Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सञ्जाल प्रयोग : भाइरल हुने मोहले निम्त्याएका ६ प्रवृत्ति !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ८ २०८१
  • 2.1K
    SHARES

प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ। सूचनाको आदान–प्रदान, सम्पर्क सञ्जाल विस्तार तथा विचार अभिव्यक्तिको सजिलो माध्यम भए पनि यसका केही नकारात्मक पक्षहरू भने समाजमा विकृति फैलाउने कारक बन्न थालेका छन्।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्तामा देखिएका यी ६ प्रवृत्तिले हाम्रो सोच, संस्कार, मानसिकता, व्यवहार तथा आचरणमा नकारात्मक प्रभाव पारिरहेका छन्।

भिडियोबाट भाइरल हुने मोह

धेरैभन्दा धेरै सामाजिक प्रयोगकर्ताले ‘भाइरल’ हुनु ठूलो उपलब्धि ठान्न थालेका छन्। कम मिहिनेतमा चर्चित हुने र आर्थिक लाभ उठाउने माध्यम समेत बनेको छ सामाजिक सञ्जाल। यसका लागि अनावश्यक तथा अक्षम्य सामग्री उत्पादन गर्ने प्रवृत्ति बढ्दो छ। कतिपय व्यक्तिहरू व्यक्तिगत गोपनीयता भंग गरेर, उट्पट्याङ हर्कत देखाएर वा अरूलाई अप्ठ्यारोमा पार्ने सामग्री सिर्जना गरेर भाइरल हुन खोज्दैछन्।

यस्ता भाइरल भिडियोबाट हुने आम्दानी, चर्चित बन्ने चाहना र सामाजिक सञ्जालको एल्गोरिदमले सनसनीपूर्ण सामग्रीलाई प्राथमिकता दिनु यस प्रवृत्तिका प्रमुख कारण हुन्। साथै, थोरै समयमा बढी लोकप्रियता हासिल गर्न खोज्ने मानसिकता पनि यसलाई बढावा दिने तत्व हो।

समाजमा गलत सूचना तथा अफवाहको तीव्र फैलावटसँगै गलत उदाहरण स्थापित गर्छ, जसले गर्दा धेरै युवाहरू सजिलो तरिकाले प्रसिद्धि कमाउने सोच राख्छन्। अनावश्यक र हानिकारक सामग्रीको वृद्धिले युवामा गलत आदर्श प्रवर्धन हुनुका साथै सामाजिक नैतिकताको ह्रास गराउँदै वास्तविक प्रतिभा र सिर्जनशीलतालाई पछाडि धकेल्छ।

कुनै व्यक्तिले दिएको अभिव्यक्ति वा समाचारलाई पूरा सन्दर्भ नबुझी एकथरी समूहले देवत्वकरण र अर्को समूहले राक्षसीकरण गर्ने चलन बढ्दो छ। यसले झुटो सूचना फैलिनुका साथै द्वन्द्व समेत बढाउँछ

सतही मूल्याङ्कन र अनावश्यक टीकाटिप्पणी

सूचना प्रवाहको तीव्रताले गर्दा कुनै पनि विषयमा गहिरो अध्ययन वा अनुसन्धान गर्नुभन्दा सतही रूपमा मात्रै मूल्याङ्कन गर्ने प्रवृत्ति बढेको छ। सामाजिक सञ्जालमा कुनै विषय ट्रेन्डिङ हुनासाथ त्यसको वास्तविकता नबुझी या आधिकारिक स्रोतको जानकारी नलिई केवल सुनेका भरमा अनावश्यक टीकाटिप्पणी, आलोचना वा समर्थन गर्ने प्रवृत्ति मौलाएको छ।

उदाहरणका लागि, कुनै व्यक्तिले दिएको अभिव्यक्ति वा समाचारलाई पूरा सन्दर्भ नबुझी एकथरी समूहले देवत्वकरण र अर्को समूहले राक्षसीकरण गर्ने चलन बढ्दो छ। यसले झुटो सूचना फैलिनुका साथै द्वन्द्व समेत बढाउँछ।

सूचनाको तीव्र प्रवाह, सामाजिक सञ्जालमा छोटकरीमा प्रस्तुत गरिएका समाचार र मानिसमा गहिरो अध्ययन गर्ने बानीको कमी यस प्रवृत्तिका प्रमुख कारण हुन्।

यसले समाजमा झुटा अफवाह र गलत जानकारी फैलाउँदै जान्छ जसले गलत धारणा सिर्जना गर्छ। साथै, गहिराइमा नबुझी प्रतिक्रिया दिनाले गलत भाष्य निर्माणको सम्भावना बढ्छ।

छोटो कन्टेन्ट र भिडियोमा निर्भर

पहिले लामो लेख, पुस्तक, अनुसन्धान-अध्ययन वा विस्तृत समाचार पढ्ने प्रवृत्ति थियो। तर अहिले छोटा भिडियो, रिल्स् वा मिमहरू हेरेरै कुनै पनि विषयमा धारणा बनाउने गरिन्छ। प्राथमिकता पनि यस्तै सामग्रीले पाउने गरेको छ।

डिजिटल माध्यमको विकासले सूचनामा सहजता ल्याउनुका साथै छिटो जानकारी उपलब्ध हुनुले मानिसलाई सजिलो तरिकाले ज्ञान प्राप्त गर्न प्रेरित गरेको छ। यस्ता सामग्रीले छोटो समयमा धेरै कुरा जान्ने चाहना वृद्धि गर्नुले पनि ध्यान केन्द्रित गर्ने क्षमतामा असर पार्दै लगेको छ। साथै, गहिरो अध्ययनको संस्कृतिलाई कमजोर बनाइरहेको छ।

यस्ता सतही उपभोग प्रवृत्तिले आलोचनात्मक सोच, समाजमा बौद्धिकता घटाउने, तार्किक क्षमतामा गिरावट ल्याउने र तथ्यभन्दा भावनामा बहकिने प्रवृत्ति बढाउने खतरा हुन्छ।

अधिकांश समय सामाजिक सञ्जालमा

युवा पुस्ताको जीवनशैली नै बनिसकेको छ सामाजिक सञ्जाल। विशेषगरी युवाहरूले घण्टौं फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर जस्ता सञ्जालमा समय बिताउँछन्। प्रत्यक्ष मानव सम्पर्क घट्दै गएको छ। वास्तविक जीवनका अनुभवहरू कम हुँदै गएका छन्।

सामाजिक सञ्जालमा उपलब्ध मनोरञ्जन, डिजिटल प्लेटफर्मको एल्गोरिदमले प्रयोगकर्तालाई निरन्तर अनलाइन रहन बाध्य बनाउँछ।

सही रूपमा उपयोग गर्न सकेमा ज्ञान, सूचना र सकारात्मक प्रभाव फैलाउने उत्कृष्ट माध्यम हो सामाजिक सञ्जाल। प्रयोगकर्ता स्वयंले सामाजिक सञ्जाललाई नियन्त्रणमा लिई प्रयोग गर्न जान्नुपर्छ
यस्ता प्रवृत्तिले उत्पादकत्व घटाउँछ, सामाजिक तथा पारिवारिक सम्बन्धमा दूरी देखिनुका साथै तनाव, डिप्रेसन र एक्लोपन हुने जस्ता मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ र वास्तविक सामाजिक सम्बन्धहरू कमजोर बनाउँछ।

घटना भएलगत्तै हल्लाखल्ला मच्चाउने प्रवृत्ति

सामाजिक सञ्जालमा केही घटना भएलगत्तै त्यसलाई बढाइचढाइ गरेर हल्लाखल्ला मच्चाउने वा कुनै व्यक्ति/संस्थालाई दोष दिने प्रवृत्ति व्यापक रूपमा देखिन्छ। कुनै घटना पुष्टि हुन नपाउँदै सामाजिक सञ्जालमा आक्रोश पोख्ने, गलत सूचना फैलाउने र विना प्रमाण आरोप लगाउने गरेको पाइन्छ। कसैलाई अपमानजनक टिप्पणी गर्ने वा ‘क्यान्सल कल्चर’ को शिकार बनाउनुका साथै अनावश्यक रूपमा डर र तनाव फैलाउने गरेको समेत देखिन्छ।

२०७९ सालको पोखरा विमान दुर्घटनालाई यसको एउटा उदाहरणका रूपमा लिन सकिन्छ। दुर्घटनापछि केही मिनेटमै फेसबुक, ट्विटर र टिकटकमा विभिन्न अड्कलबाजी, गलत विवरणहरू फैलिन थाले। केही व्यक्तिले विमान दुर्घटनालाई नियोजित भनेर दाबी गरे भने कतिपयले पाइलटको लापरबाहीलाई मुख्य कारण ठहर्‍याए। जबकि त्यो अनुसन्धानमै समय लाग्ने विषय थियो।

यसरी सामाजिक सञ्जालमा हल्लाखल्ला मच्चाउँदा पीडित परिवार थप मानसिक तनावमा पर्ने, गलत सूचना फैलिएर अनावश्यक डर र अन्योल सिर्जना हुने अवस्था देखिन्छ।

अराजकतालाई निम्तो

सामाजिक सञ्जाल सूचना आदान–प्रदान गर्ने सशक्त माध्यम भए पनि यसलाई गलत तरिकाले प्रयोग गरिंदा अराजकता निम्त्याउने खतरा रहन्छ। गलत सूचना, अफवाह र आधारहीन समाचारले समाजमा अशान्ति बढाउन सक्छ।

भाइरल हुन, टीकाटिप्पणी गर्न वा ध्यानाकर्षण गर्न केही व्यक्तिहरू सामाजिक सञ्जालमा उच्छृंखल व्यवहार देखाउँछन्। समाजमा अनावश्यक विवाद सिर्जना र कानुनको उल्लङ्घन गर्ने कार्यहरू पनि सामाजिक सञ्जालबाटै उत्पन्न हुन थालेका छन्।

जातीय एवं धार्मिक द्वन्द्व भड्काउने सामग्री, कुनै पनि व्यक्ति वा संस्थालाई हानि पुर्‍याउने खालका पोस्ट गर्ने, कसैलाई बदनाम गर्न झुटा आरोप लगाउने लगायत विभिन्न व्यक्तिगत आक्रोश, सामाजिक वा राजनीतिक विषयमा कुनै समूह वा व्यक्तिलाई लक्षित गरेर द्वेषपूर्ण टिप्पणी गर्ने र हिंसात्मक विचार फैलाउने गतिविधि अराजकताको उदाहरण हुन्।

यस्ता प्रवृत्तिले समाजमा घृणा, वैरभाव तथा द्वन्द्वको वृद्धि, सामाजिक मर्यादा र नैतिकताको ह्रास हुनुका साथै समाजमा अस्थिरता र कानुनी समस्या सिर्जना गर्न सक्छ, जसले सामाजिक सद्भावलाई नकारात्मक रूपमा असर गर्छ।

निष्कर्ष

सही रूपमा उपयोग गर्न सकेमा ज्ञान, सूचना र सकारात्मक प्रभाव फैलाउने उत्कृष्ट माध्यम हो सामाजिक सञ्जाल। प्रयोगकर्ता स्वयंले सामाजिक सञ्जाललाई नियन्त्रणमा लिई प्रयोग गर्न जान्नुपर्छ।

सन्तुलित रूपमा प्रयोग गरे धेरै हदसम्म सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट टाढा रहन सकिन्छ। डिजिटल युगमा सचेत र जिम्मेवार नागरिक बनेर मात्र सामाजिक सञ्जाललाई सभ्य र सुसंस्कृत समाज निर्माणको माध्यम बनाउन सकिन्छ।

(लेखक तिलोत्तमा क्याम्पस रूपन्देहीमा बीबीए छैटौं सेमेस्टरमा अध्ययनरत छन्।)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४