काठमाडौं । नेपालमा अन्डाको मूल्यले नयाँ उचाइ छोएको छ। माग र उत्पादनबीचको असन्तुलनले अन्डाको मूल्य लगातार बढिरहेको छ। व्यवसायीहरूले मंसिर १५ यता सातैपिच्छे मूल्य वृद्धि गर्दै आएका छन् ।
मंसिर १५ मा मिडियम अन्डाको एक क्रेटको मूल्य ४४० रुपैयाँ थियो, भने ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ थियो। मंसिर २८ सम्म मिडियम अन्डा ४७० र ठूलो अन्डा ४८५ रुपैयाँमा पुग्यो। हाल पुस १२ मा मिडियम अन्डाको मूल्य ५०० र ठूलो अन्डाको ५१५ रुपैयाँ पुगेको छ। खुद्रा बजारमा एउटा अन्डाको मूल्य २५ रुपैयाँसम्म पुगेको छ।
नेपाल लेयर्स कुखुरापालक संघका अनुसार उत्पादनमा कमी र दानाको मूल्य वृद्धिले अन्डाको मूल्यमा लगातार वृद्धि भएको हो। संघका संस्थापक अध्यक्ष विनोद पोखरेलका अनुसार कोभिड-१९ पछि ६०% कुखुरा किसान विस्थापित भएका छन्, जसका कारण दैनिक उत्पादन ३०-३२ लाख गोटामा सीमित छ।
किसानहरूले एउटा अन्डा १७ रुपैयाँमा बेच्दै आएका छन्, तर खुद्रा बजारमा उपभोक्ताहरूले २२.५० देखि २५ रुपैयाँसम्म तिर्नुपरेको छ।
चिसो मौसम, पर्यटकहरूको आगमन, र उपभोक्ताहरूमा अन्डाको स्वास्थ्य लाभप्रति जागरुकताले मागमा वृद्धि भएको छ।
सरकारले अन्डामा आत्मनिर्भरता घोषणा गरे पनि उत्पादन मागको तुलनामा १०% अपुग छ। पशु सेवा विभागले दानाको मूल्य वृद्धिले ७५% योगदान गरेको जनाएको छ। मूल्य निर्धारणमा चितवनलाई आधार मानिने भएकाले व्यवसायीहरूको सिन्डिकेटले पनि मूल्य वृद्धि गरेको आरोप छ।