काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार जिल्ला अदालत कास्कीले थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले भने थप २५ दिन मागेको थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जन प्रहारलाई जानकारी दिए । लामिछाने माथि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको अधिकारीले बताएका छन् ।
यसअघि अदालतबाट पहिलो पटक ६ र दोस्रो पटक ७ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो । यही कार्तिक २ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई पोखरा लगिएको थियो ।
रबि लामिछाने सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै सुर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सरकार समक्ष कारबाही सिफारिस गरेको थियो । सरकारले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि लामिछाने पक्राउ परेका हुन् ।
सभापति रबि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ ।