काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धन सरकार गठन भएको तीन महिना पुग्दै गर्दा सरकारको विपक्षी दलहरुसँगको दूरी झन् झन् बढ्दै गएको छ । नेकपा एमाले अध्यक्ष ओलीले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई चक्मा दिएर नेपाली काँग्रेससंग गठबन्धन गरेपछि चिढिंदै पदत्याग गर्नुभएका दाहाल सरकारप्रति झन् आक्रामक बन्नुभएको छ भने प्रधानमन्त्री ओली पनि विपक्षीहरुलाई विश्वासमा लिने भन्दा थप चिढ्याउने मनस्थिति मै देखिनु भएको छ ।
नेकपा माओवादी केन्द्रसँगको दोस्रो पटकको गठबन्धन तोड्दै ओली रातारात प्रधानमन्त्री बनेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेकपा एमालेसँग ज्यादै रुष्ट हुनुभएको थियो । ओली प्रधानमन्त्री बनेदेखि नै सु-शासनको अभियान विथोल्न र भ्रष्टाचारीलाई बचाउन नयाँ गठबन्धन गरिएको भाष्य बनाउनु भएका दाहालले ओली सरकारका सय दिने गतिविधिले आफ्नो आशंकालाई पुष्टि गरेको दलिल गर्न थाल्नु भएको छ । सत्ताबाट बाहिरिएपछि पहिलो पटक शक्ति प्रदर्शन गरेका नेकपा माओवादी केन्द्रका नेताहरुले सरकारमाथि भ्रष्टाचारीको मतियारको आरोप मात्र थोपरेनन्, हतियार चलाउन अझै नर्बिसिएको भन्दै धम्की समेत दिन चुकेनन् ।
जस्तालाइै तस्तै जवाफ दिन खप्पिस प्रधानमन्त्री ओलीले पनि २४ घण्टा नवित्दै आफुले हतियार चलाउन नजाने पनि कसरी बिसाउन लगाउने भन्ने जानेको भन्दै पूर्व प्रधानमन्त्री दाहाललाई तात्तातो जवाफ फर्काउनु भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र नजिकिँदा भाइभाइ हुने र अलिकति दूरी बढेपछि एक अर्काको दोहोलो काड्ने पुरानै प्रवृत्ति हो । प्रजातन्त्र र लोकतन्त्रको विरासत बोकेका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले मुलुकलाई पार लगाउने जुन अपेक्षा थियो,सय दिनको प्रदर्शनले त्यसतर्फ आशा जगाउन नसक्दा भोलिका दिनमा विपक्षी हावी नहोलान् भन्न सकिंदैन । त्यसैले सरकारले विपक्षीलाई तात्तातो जवाफको गोली हान्नु भन्दा कामबाट आफूलाई प्रमाणित गर्नु उचित होला कि !