Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीले सखाप पार्‍यो ७ हजार मुरी धान फल्ने खेत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १७ २०८१
  • 1.6K
    SHARES

काठमाडौँ । लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका-६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो ।

घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । ‘लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप गर्‍यो । सात मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो,’ उनी भन्छन् ।

दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनीजति खेत थियो भन्छन्, वडाध्यक्ष नारायण भोम्जन ।

‘धानसहित खेत लगिहाल्यो, सबैतिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लैजानसक्ने अवस्था छैन, सबैको घरमा रासन सकिन लाग्यो । सबैतिर बेहाल छ,’ अध्यक्ष भोम्जनले भने, ‘वडामा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । तत्कालै राहत दिनुपर्ने नौ परिवार छन्, सुकुम्बासी बस्तीका पाँच घर बगायो, अरु पाँच घर पनि चर्केका छन्, बस्न मिल्दैन । यहाँ दुई दर्जनजति निजी घरमा क्षति पुगेको छ ।’

बागमती गाउँपालिकाको वडा नं १, २, ४, ६ र ७ बागमती नदी किनारमा पर्छन् । यहाँका अरू वडामध्ये आश्रङले धेरै क्षति ब्यहोर्नुपरेको छ । अविरल वर्षासँगको बाढीले वडा नं ५ इकुडोलको पक्की पुल बगाएको छ । गाउँपालिकाबाट वडा कार्यालयसम्म पुग्ने सडक ५० भन्दाबढी स्थानमा भत्किएको छ । कलवन भन्ने ठाउँमा स्थानीय रणबहादुर दर्लामीको घर तथा यहाँको झोलुङ्गे पुल खोलाले बगाएको छ ।

यस्तै, कान्तिलोकपथको बगुवाको सवारीसाधन आवतजावत गर्ने पुल नै बागमतीले बगाएको छ । वर्षाले निम्त्याएको विपत्तिका कारण ललितपुरको दक्षिणी भेगमा रहेका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन बनेका छन् ।

विपत्तिका कारण महाँकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजन र मानवीय क्षति ब्यहोर्नुपरेको राहत र उद्धारका लागि सञ्चार समन्वय नहुँदा समस्या भइरहेको छ । यहाँका बिरामीलाई उपचारका लागि लिनुपर्दा हेलिकप्टको प्रयोग बाध्यात्मक बनेको छ । त्यसैले त आइतबार र सोमबार हेलिकप्टरबाट प्युटार र गोटिखेलबाट बिरामीलाई पाटन अस्पताल पुर्‍याइयो । बुधबार हेलिकप्टरबाट राहत सामग्री यहाँ ल्याइएको थियो । ‘लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युत्का खम्बाहरू ढलेका छन् । जसका कारण पाटनबाट गाउँपालिकासम्म आउन असहज भएको छ,’ महाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले भने ।

बाढीपहिरोबाट गोटीखेलको हिलसाइज अङ्ग्रेजी माध्यमिक विद्यालय, वैतर्णीधाम मन्दिर, वन कार्यालय भवन, टुङ्गन इलाका प्रहरी चौकी बगाएको छ । अवरुद्ध रहेको कान्तिलोकपथ खुलाउनका लागि डोजर प्रयोग गरेर सडक सफा गर्ने काम भइरहेको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । ‘अहिले तीनपाने भञ्ज्याङसम्म एकतर्फी सडक सञ्चालन हुन्छ, डोजर प्रयोग गरेर सफा गर्यौँ, अब छपेलीसम्म सफा हुन्छ,’ उनले भने ।

ठोस्ने खोलामा आएको बाढीका कारण कोञ्ज्योसोम गाउँपालिकाका–३ दल्चोकीको सिलिङ्गेबेसी २२ वटा घर बगाएको उपाध्यक्ष राजनप्रसाद घिमिरेले जानकारी गराए । ‘पालिकाभित्र ४० घर बगाएको र पुरिएको छ, वडा नं २ शङ्खुमा चार घर, सिलिङ्गेबेसीमा २२ घर र वडा नं १ चौघरेमा एक घर क्षति भएको छ । तीन जनाको ज्यान गएको छ,’ उनले भने।

दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका बाढीपहिरोमा परेर १३ जनाले ज्यान गुमाएको र अझै पाँच जना बेपत्ता रहेको महाँकाल गाउँपालिका उपाध्यक्ष डोल्मामाया लामाले बताइन् । ‘बाढीपहिरोले मानवीय क्षतिका साथै धेरै भौतिक क्षति भएको छ, यहाँ शुक्रबारदेखि कार्यालय खुल्न सकेको छैन, प्रमुख प्रशासकीय अधिकृत नै पालिका कार्यालय पुग्न सक्नुभएको छैन,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४