Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती सरकारले चलाउन सकेन पाउडर दूध प्लान्ट, डीडीसीलाई जिम्मा दिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १७ २०८१
  • 1K
    SHARES

काठमाडौँ । बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडास्थित धुलो दूध कारखाना सञ्चालनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिने तयारी गरेको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग सञ्चालनको स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने तयारी गरेको मन्त्रालयका सचिव विनोद भट्टराईले जानकारी दिएका छन्  ।

भट्टराईले २० भदौभित्र डीडीसीले सञ्चालन कार्ययोजनाको प्रस्ताव पेश गर्ने बताएका छन्  । उनका अनुसार दुई वर्षसम्म उद्योग नियमित सञ्चालन नगरे उपकरणहरु बिग्रन सक्ने भन्दै तत्काललाई डीडीसीलाई सञ्चालनको जिम्मा दिन लागिएको हो ।

६ भदौ २०८१ मा प्रदेश दुग्ध विकास बोर्डका अध्यक्षसमेत रहेका कृृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले डीडीसीसँग उक्त धुलो दूध कारखाना सञ्चालन कार्ययोजना माग्ने निर्णय गरेको थियो ।

डीडीसीले हेटौंडा उपमहानगरपालिका-१० मा निर्माण गरिएको धुलो दूध कारखाना (पाउडर प्लान्ट) को एक वर्षयता परीक्षणको रुपमा सञ्चालन गर्दै आएको छ ।

मंसिर २०८० मा उद्योग स्थापना हुँदा पनि बागमती प्रदेशको कृषि मन्त्रालयसँग कारखाना सञ्चालन कार्ययोजना थिएन । त्यसपछि प्रदेश दुग्ध विकास बोर्डसँग १४ मंसिर र २२ माघ २०८० मा भएको सम्झौता अनुरुप डीडीसीले परीक्षणका रुपमा सञ्चालन गर्दै आएको हो ।

पाउडर प्लान्ट सञ्चालनको मोडालिटी टुंगो अझै लागेको छैन । ‘सञ्चालन कार्ययोजना नबनाई उद्योग स्थापना गर्नु गलत थियो । अब यसलाई सञ्चालन कार्ययोजना बनाएर छिट्टै टुंग्याउँछौं’, सचिव भट्टराईले भने, ‘निजी क्षेत्रलाई उद्योग दिइने छैन । दुग्ध उत्पादक सहकारीसँगको साझेदारीमा सञ्चालनको मोडालिटी बनाउने गृहकार्य भइरहेको छ ।

कार्ययोजना बनाउन डेढ वर्ष समय लाग्ने हुनाले त्यतिन्जेल डीडीसीलाई नै सञ्चालन गर्न दिने योजना कृषि मन्त्रालयको छ ।

कार्ययोजना नबनाई उद्योग स्थापना

जिल्ला दूध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरि कंडेल सञ्चालन कार्ययोजना नबनाई हचुवामा उद्योग स्थापना गर्दा सरकारी बजेट खेर गएको बताउँछन् ।

किसानलाई १६ महिनाको दूधको भुक्तानी दिन नसकेको डीडीसीले उद्योग सञ्चालन गर्न नसक्ने भन्दै उनले प्रदेश सरकारले सहकारी संघहरुसँग मिलेर उद्योग चलाउनुपर्ने बताएका छन्  ।

हेटौंडास्थित पशु आहार उत्पादन उद्योगको साढे १ बिघा क्षेत्रफलमा बागमती प्रदेश सरकारले ४७ करोड ३३ लाख २३ हजार ५ सय ८१ रुपैयाँ लागतमा धुलो दूध कारखाना (पाउडर प्लान्ट) स्थापना गरेको थियो ।

१६ पुस २०७७ मा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको कारखानाको निर्माण कार्य एक वर्षभित्र सक्ने गरी इजी इन्फ्रा कम्पनीले ठेक्का सम्झौता गरेको थियो । कम्पनीसँग १ पुस २०७७ मा ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तीन पटक म्याद थप गरी कारखाना निर्माण भएकाले यसको लागत ६ करोड रुपैयाँ पुगेको मन्त्रालयका योजना महाशाखा प्रमुख तथा प्रवक्ता सुजन कंडेलले बताएका हुन्  ।
मन्त्रालयका पशुपन्छी विकास महाशाखाका अधिकृत आभास कोइरालाका अनुसार निर्माणस्थलको संरचना हटाउन भएको ढिलाइ, कोरोना महामारी लगायतका कारणले ३ वर्षमा मात्रै संरचना तयार भएको थियो ।

दैनिक ६० हजार लिटर दूध खपत गर्ने क्षमताको उद्योग नियमित सञ्चालनमा आएमा प्रतिदिन ५ मेट्रिक टन र प्रतिवर्ष एक हजार पाँच सय मेट्रिकटन धुलो दूध उत्पादन गर्न सकिने अधिकृत कोइरालाले बताएका छन्  ।

बागमती प्रदेशमा वार्षिक चार लाख ५५ हजार १४२ मेट्रिक टन दूध उत्पादन भइरहेको मन्त्रालयको अनुमान छ । प्रदेशका चितवन, काभ्रे, सिन्धुली, धादिङ र मकवानपुरमा धेरै दूध उत्पादन हुन्छ । प्रदेशका अधिकांश किसान गाईभैंसी पालनबाट आत्मनिर्भर छन् । चितवन, काभ्रे र मकवानपुरमा व्यावसायिक रुपमा गाईभैंसी फार्म सञ्चालन गर्ने किसानहरु छन् ।

सहकारी मोडलमा चलाउने योजना

कृषिमन्त्री प्रकाश श्रेष्ठले प्रदेशका १३ वटै जिल्लाका दुग्ध उत्पादक सहकारी संघको साझा संगठनको रुपमा प्रदेश दुग्ध विकास सहकारी संघ गठन गर्ने र त्यसैलाई उद्योग सञ्चालनको जिम्मा दिने योजना रहेको बताएका हुन्  ।

जिल्लाका सहकारी संघहरुलाई प्रदेश दुग्ध विकास सहकारी संघ गठन हुनेबारे जानकारी दिइसकेको उनको भनाइ छ । संघले सञ्चालन गर्ने उद्योगमा दुग्ध विकास संस्थानले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको उनी बताउँछन् ।

कारखाना सञ्चालनमा दुग्ध उत्पादक किसानको प्रत्यक्ष सहभागिता हुने सञ्चालनको यो मोडल उपयुक्त हुने उनको दाबी छ ।

किसानहरुको प्रत्यक्ष सहभागिता हुने भएपछि कारखानालाई दूधको अभाव पनि नहुने उनको भनाइ छ । सहकारी संघलाई कारखाना सञ्चालनको जिम्मा दिएर मन्त्रालयले आवश्यकताअनुसार वार्षिक रुपमा अनुदान दिने मन्त्री श्रेष्ठले बताएका छन्  ।

पाँच मन्त्री फेरिए, उद्योग चलेन

धुलो दूध कारखाना निर्माण भएयता बागमती प्रदेशमा पाँच जना कृषि तथा पशुपन्छी विकास मन्त्री बनिसके । मन्त्री बनेपछि उनीहरुले आफ्नो प्राथमिकता त्यही कारखाना सञ्चालन भएको बताउँथे ।

नेकपा एमाले नेता दावा दोर्जे लामा मन्त्री भएका बेला कारखाना स्थापनाको निर्णय भएको थियो र उनले नै कार्यान्वयनमा लगेका थिए । त्यसपछि एमालेका चन्द्र लामा दुई महिना, नेकपा एकीकृत समाजवादीका बसुन्धरा हुमागाईं डेढ वर्ष,नेकपा एकीकृत समाजवादीका डा.राजेन्द्रमान श्रेष्ठ र नेकपा  एमालेका प्रकाश श्रेष्ठ मन्त्री बने ।

विगतका मन्त्रीहरुले जस्तै अहिलेका मन्त्री श्रेष्ठले पनि कारखाना सञ्चालनका लागि तदारुकता देखाएका छन् । यद्यपि कारखाना सञ्चालन हुने/नहुने अन्योल नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४