काठमाडौं । कांग्रेससँग सत्ता समीकरणको सहमतिपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले दिउँसो ३ बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको हो ।
बैठकमा कांग्रेस र एमालेबीच भएको नयाँ सत्ता समीकरणको सहमतिका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषयमा छलफल हुनेछ ।
उपमहासचिव ज्ञवालीले नयाँ सरकार गठनको प्रक्रिया पनि आजैबाट अघि बढ्ने बताए । ‘नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषय टुंगो लगाउँछौँ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पनि बस्दैछ । बैठक केही समयपछि सुरु हुने बताइएको छ ।
सिंहदरबारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ । राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्नेछ ।