काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ ।
सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ ।
दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ । संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ ।
अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।
सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने छ ।