Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मातातीर्थका रोचक २ किंवदन्ती, तपाईंलाई थाहा छ ? “तस्वीरहरू”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २६ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । आमाको मुख हेर्ने दिन, काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ ।

आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन् । श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूलप्रसाद चढाउँछन् ।

मातातीर्थमा स्नान गर्नाले छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रही आएको छ । यही विश्वासका साथ हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान प्रकट गर्नेहरुको मातातीर्थमा घुइँचो लाग्दछ । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरि नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।

आमाको मुख हेर्ने दिनलाई आमा खुवाउने औंसी वा मातृ दिवस पनि भन्ने गरिन्छ । यस दिन आमालाई मनपर्ने खानेकुरा खान दिने, वस्त्र लगायतका उपहार दिने र आशिर्वाद लिने चलन छ ।

आमाबाट टाढा रहेकाहरुले टेलिफोन गरेर आशिर्वाद लिन्छन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखी श्रद्धा प्रकट गर्ने चलन बढेको छ ।

रोचक किंवदन्ती

मातातीर्थको बारेमा विभिन्न रोचक किंवदन्तीहरु पनि छन् । तीमध्ये दुई किंवदन्ती यस्ता छन्–

किंवदन्ती–१

धेरै वर्ष पहिले काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेँदीमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो ।

अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके । तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।

कथा अनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई ‘मातातीर्थ’ नामकरण गरियो ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

किंवदन्ती–२

भगवान् विष्णुका सातौं अवतार भनिने मर्यादा पुरुषोत्तम राम वनबासका क्रममा घुम्दै मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीयले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो ।

त्यहीबेला रामकी पत्नी सीतालाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले रामले गंगामाताको स्तुति गरे । तीनपटक ‘माता गंगासमो तीर्थ पिता पुष्करमेव चः’ भन्ने मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो ।

त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाइन् । ब्रह्माण्डको दर्शन गर्दा उनको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो ।

त्यतिबेला त्यहाँ घना जंगल थियो । एकपटक गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाँदै थिए । संयोगवस एउटा गोठालो मुखमा रोटी नपर्दै कुण्ड भएतिर मात्र के गएको थियो उसले कुण्डभित्र आफ्नी आमाको दर्शन पायो । घर फर्कने बेलामा गोठालाले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा गरेकाले आमाले छोरालाई भनिन्, ‘अहिले तिमी हामीसित जान मिल्दैन । बरु मेरो दर्शन गर्न प्रत्येक वैशाख औँसीको दिन आउनू ।’

उक्त दिन हरेक आमा गुमाएका सन्तानले यही कुण्डमा आफ्नी आमाको आकृति देख्न सक्छन् भन्ने जानकारी दिएर आमाले गोठालो छोरालाई फकाई फुल्याई बिदा गरिन् । त्यति बेलादेखि हरेक वर्ष त्यहाँ मेला लाग्न थालेको किंवदन्ती छ ।

आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम ‘मातातीर्थ’ रहन गयो । त्यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आत्माले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास रहीआएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४