पुष्कर खड्का
काठमाडौ । दोलखाको मेलुङ गाउँपालिका पवटीस्थित हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाखभन्दा बढी रकम चोरी भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्याेदय साकोसका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपाने र व्यवस्थापक महेन्द्र भुजेललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार पक्राउ परेका दुई जनामध्ये न्यौपाने सूर्याेदय साकोसका पूर्व कोषाध्यक्ष र संस्थालाई घर भाँडामा दिने घरबेटी समेत रहेको र भुजेल लामो समयदेखि संस्थामा व्यवस्थापकको जिम्मेवारीमा रहेको उक्त संस्थाका अध्यक्ष छत्रराज उप्रेतीले बताउनु भयो ।
अध्यक्षको भनाइ अनुसार सोमबार राति कार्यालयको मेन गेटसहित ५ वटा ताला तोडेर सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७ हजार नगद चोरी भएको बताउनु भयो ।
प्रहरीले सूर्याेदय सहकारीमा लाखौं चोरीको भएको घटनालाई प्रहरीले शंकास्पद रुपमा लिएको र संस्थाका अन्य सञ्चालक र कर्मचारीलाई समेत निगरानीमा राखी सोधपुछ गरिरहेको दोलखा प्रहरीले जनाएको छ।