Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाइटीका, भाइ र परदेश बिचको अन्तर यस्तो अनि यथार्त सत्य !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २५ २०८०
  • 2K
    SHARES

तिहारले शहरलाई छोपेको छ। गाउँ र घरलाई छोपेको छ। तिहार आएसँगै टाढा भएका दाजुभाइ र दिदी–बहिनीको भेटको योजना बन्छ। खोजी हुन्छ। विशेषत: भाइटीका र भाइ/दाइ एकअर्काका परिपूरक हुन्। पर्याय हुन्। तर कहिलेकाहीं अपवादको नियम यसमा पनि लागू हुँदोरहेछ। र भाइ विनाको भाइटीका अनि भाइटीका विनाको भाइ आउँछ। समय न हो। ऊ आफ्नै बाटोमा आउँछ, जान्छ। उसलाई के थाहा भाइटीका र भाइ सँगै आउनुपर्छ भनेर।

दशैं-तिहार आउनलाई केही गर्नै नपर्ने। केही किन्नै नपर्ने। कहीं जानै नपर्ने। जस्तो कि: शरद ऋतुका मधेशका दिन। दिउँसो घाम भए पनि बिहान-बेलुका अलि-अलि चिसो, ओछ्यानैसम्म निद्रा ब्युँझाउन आइपुगेको पारिलो घाम, खेतमा लहलह झुलेका धानका बाला, खेतका आलीमा हिंड्नै नमिल्ने गरी लगाएका मासका बुट्यान अनि तिनका पातमा तप्प-तप्प खसेका शीतका थोपा। बटुवाका दशैंवाला गफ, घरमा पालेका कुखुरा र खसी दशैंको लागि गरिने जोगाड, मालश्री धुन र मनमोहक सुवास यी सबैले चाडबाड आएको संकेत दिने।

चाडबाड नजिकिंदै गर्दा यिनै विम्ब सम्झिंदा हुन् विदेशमा पनि। मान्छे जिम्मेवारी, सपना र कर्तव्य सहितको प्राणी हो। जसलाई पूरा गर्ने सबैका बाटा फरक होलान्। माध्यम अलग होलान्। विधि अलग होलान्। तर मानिस बाँचुञ्जेल ती कर्तव्य पूरा गर्न जिम्मेवारीको उडान उड्छ। फैलन्छ। अक्सर, त्यो उडान भर्ने जिम्मा चाहिं भाइहरुको नै हुनेरहेछ। दाइहरुको नै हुनेरहेछ। चाहे त्यो विदेशको होस् या स्वदेशको। सबै दायित्व वहन चाहिं दाइ/भाइहरुले नै गर्नुपर्ने रहेछ । यो नियम कसले बनायो त्यतातिर नजाउँ अहिले। तर नेपाली समाजमा हर घरका दाइ र भाइहरु आफ्नो र परिवारको इन्द्रेणी सपना खोज्न उड्छन् समुद्र पारिको देशमा। तिनै सपनाको भागदौडमा यता छुटेका सपना भने यतै छट्पटाउँछन्। विचल्ली बन्छन्।

सबैका भाइ/दाइहरु जस्तै मेरो भाइ पनि सपनाको उडान भर्न गयो। भाइ गएसँगै दिदीभाइको झगडा पनि गयो। चटपटे ल्याइदिस् भने तेरो कलेजको ड्रेस धोइदिन्छु नत्र त ‘उई’ वाला ‘ब्ल्याकमेल’ नि गयो। उसका गर्लफ्रेण्डका अनगिन्ती गसिप सबै गए। घर थर्काउने हाँसोको तरंग नि गयो। तर, हरेक वर्ष आउने भाइटीकामा भने सबै ताजा बनेर आउँछन्। अझै पनि वर्षौं पहिले उसले घरको भित्तामा टाँसेको ‘बब मार्ली’ को फोटोमा लागेको धुलो तिहार आएसँगै पुछ्छु। उसले लगाउने गरेका थरीथरीका मालाको संकलन दराज खोलेर हेर्छु। छाडेर गएका दुई चारवटा उसका लुगा घर सरसफाइको निहुँमा यताको उता उताको यता सार्छु। असंख्य झगडाका फेहरिस्त आलो बनेर आँखै अघि नाच्छन् तिहार आएसँगै। मलाई कति कुट्थिस् तँ… भन्दै भाइ छेवैमा भए जसरी मुस्कुराउँछु। इन्टरनेट युगमा छिन-छिनमा बोल्न केले छेक्छ र ! भाइले ‘सोल्टी’ (जिस्केर भाइले सोल्टी भन्छ) के छ भनेर हरदिन फोन गर्छ। तर ‘भर्चुअल’ संवादले भूगोल नजिक्याउने रहेनछ। नजिक्याए जस्तो भ्रम छरेर झन् झन् टाढा बनाउने पो रहेछ।

भाइ/दाइहरुको दुनियाँ भने फरक छ । अर्काको देश अर्काकै हो नि ! त्यहाँ माटो मग्मगाउँदैन। आकाशमा उदाउने जून घरको झ्यालमा आएर मुस्कुराउँदैन। बगैंचामा फल पाक्दैन। करेसामा तरकारी फल्दैन। खुशीहरुको आयतन साँघुरो बन्छ। दु:ख बाडिंदैन। कुनै ‘मेसिन’ जस्तो भएर बाँचेका छन्। आज सञ्चो भएन आराम गरौं भन्ने छुट छैन। महिनाको अन्तिमसम्ममा घर, गाडी, मेडिकल, कलेज ‘फि’ आदिको ‘इन्स्टल्मेन्ट’ कति चाहिने हो हिसाब गरेर ठिक्क पार्न, भाइ/दाइहरु बाध्य छन्। हरचिजको किस्तामा रहर साट्छन्। नौरंगी सपना साट्छन्। यसरी किस्ता-किस्ताको जीवन बाँचिरहेका भाइ/दाइहरु दशैं-तिहार कसरी सम्झिंदा हुन् ? छठ र ल्होसार कसरी मनाउँदा हुन् ? माघी र फागुपूर्णिमामा के गर्दा हुन् ?

रेडियो, टिभी सबैतिर देउसे र भैलोका धुन बज्न थालेका छन्। यता धुन बज्दा उता आँखा भरिन्छन्। यता घर उज्यालिंदा उता छोराहरुको अनुहार अध्यारिन्छ। यता मीठा–मीठा पकवान पाक्दा उता मुख रसाउँछ तिहारमा बज्ने धुनहरुले भाइ खोज्छ। आँगनमा फुकेका फूलहरुले भाइ खोज्छ। घरको झिलिमिली, सडकको झिलिमिली, शहरको झिलिमिली… यो झिलिमिली केका लागि ? जबकि लाखौं दाइ/भाइहरु यो उज्यालोको हिस्सामा छैनन्। अनि उनीहरु विनाको उज्यालो हामीलाई के अर्थ ? चाडबाडमा घर-घरमा आमाहरुले मीठा–मीठा परिकार पकाउनुहुन्छ तर खानेबेलामा आमाहरुको घाँटीमा गाँठो पर्छ। दशैंका आशीर्वाद र तिहारका शुभाशिष् कसको शिरमा गएर अडिउन् ? आमा/श्रीमती/ प्रेमिकाहरुका हरेक विशेष दिन ‘विशेष’ बन्न छाडेर ’सुदूर’ सम्झना बनी आउँछन अनि छोरा/श्रीमान/प्रेमीहरुको जादुयी आगमनको अपेक्षामा आँखाहरु क्षितिजसम्म पुग्छन् र सजल फर्कन्छन्।

छोराहरु पढ्न विदेश गए। श्रम गर्न विदेश गए। अवसर खोज्न विदेश गए। न्यूनतम घर चल्ने पैसा कमाउन पनि विदेशै गए। कति चाहेर गए। कति नचाहेर गए। कति फर्कन गए। कति नफर्कन गए। जे जसरी गए पनि देश त उनीहरुको पनि उत्तिकै हो नि ! देश भन्ने चिज भूगोल मात्र नभएर भावना पनि त हो। भावनामा देश सजाए। घरका भित्ता–भित्तामा देश सजाए। सन्तानलाई देश पढाए। नेपाली भाषा पढाए। राष्ट्रियता सिकाए। टुटेफुटेको नेपाली लवजमा राष्ट्रिय गीत र लोकगीत सिकाए। यो सबै केका लागि गरे ? छातीभरि बोकेर गएको ‘नेपाल’ कहीं कतै बिसाएनन्। बिसाउन सकेनन्। बरु बिसाउनुको विकल्पमा स-साना मायाहरु जोडेर जहाँ-जहाँ आफू बसे त्यहीं-त्यहीं नेपाल बनाए।

हामी यहाँ बसेर उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको हिसाब गर्छौ। तर उनीहरु नहुनुले यहाँ कति क्षय भएको छ ? त्यो हिसाब गर्दैनौं। उनीहरु नहुँदा हुने पारिवारिक विखण्डन र सामाजिक क्षयीकरणको असर कस्तो छ ? त्यो हिसाब गर्दैनौं। छोराछोरीमा कस्तो मनोवैज्ञानिक असर पर्दैछ ? त्यो हिसाब गर्दैनौं। यौवन अवस्थामा श्रीमान्/श्रीमती वर्षौँ छुट्दाको नियति कस्तो हुन्छ ? मृत्युसँग लडिरहेका बाबु/आमाले अन्तिम निमेषमा पनि छोराछोरीको अनुहार देख्न नपाउँदाको पीडा कस्तो हुन्छ ? विवाह भएर एक महिना पनि सँगै नबसेको श्रीमान् बाकसमा फर्कंदा कस्तो हुन्छ ? यी प्रश्नहरुको वजनलाई शासकहरुले जहिले अनदेखा गरिरहे। सत्ताले हिसाब बुझ्यो तर हृदय बुझेन।

भाइ/दाइहरु बाबु-आमा बिरामी हुँदा आउन सक्दैनन्। बाबु-आमाको मृत्यु हुँदा काजकिरिया गर्न आउन सक्दैनन्। चाडबाड आउँदा आउन सक्दैनन्। कुनै उत्सव वा पारिवारिक जमघटमा आउन सक्दैनन्। यहाँ बसेर हामी यो पीडा त अनुमान न गर्न सक्छौं। तर विदेशमा भने एउटा नेपाली अर्को नेपालीको यही पीडाको साक्षी भएर बाँचिरहेका छन्। हामीलाई लाग्छ त्यो स्वर्ग हो। उनीहरु अभावविहीन जिन्दगी बाँचिरहेका छन्। गगनचुम्बी महल, चिल्ला सडक, गाडी, पैसा र ऎस-आरामको जीवन देख्दा क्या जीवन बाँचेका छन्… सम्झन्छौं। तर यसरी समग्रतामा मात्र हेर्यौं भने उनीहरुप्रति बेइमानी हुन सक्छ। एकदिन त सन्तान आउँछन् नि ! भनेर कोसौं परसम्म आँखा ओछ्याएर बसेका बाबु/आमाको विश्वास माथि कुठाराघात हुनसक्छ। नेपालमा भएका छोराछोरीको तोतेबोली सुन्न आतुर बाबुहरुको उत्कट चाहना कसरी झुटो हुन सक्छ ? आमा-बुबाको अन्तिम स्पर्शप्रतिको भोक कुन सन्तानलाई हुँदैन र! कामना गरौं एकदिन उनीहरु आउँछन्।

म पुन: स्मृतिको भाइटीकातर्फ फर्के। हुनत, आजभोलि चाडबाडले उत्तिसारो तान्दैनन् विगत जस्तो। बचपन एक मिठास रहेछ। ऊ बेलाका ग्रीष्मकालीन सम्झना पनि शरद जस्तो शीतल लाग्ने। अत्यासलाग्दा अभावले पनि जीवनमा केही सिकाएर गए जस्तो लाग्ने। दशैंमा थापेका दक्षिणा भेला पारेर तिहारमा भाइलाई उपहार किन्न साँच्नु, तिहारमा देउसी खेलेका पैसा दिदीलाई दक्षिणा दिन साँच्नु हरेक वर्ष हाम्रो तिहारको जोगाड हुन्थ्यो। यो एक निम्न मध्यम वर्गीय परिवारको कथा पनि हो। पृथ्वीका विपरित ध्रुव जस्ता रुचि थिए हाम्रा। एकअर्काका केही मन नपर्ने। आमा भन्नुहुन्थ्यो: दिदीले जे दिन्छे त्यै लगा मन नपरे पनि… गनगन नगर, भोलिपर्सि दिदी बिहे गरेर कहाँ पुग्छे अनि भेट्लास् ! तर दिदी विवाह गरेर जानुभन्दा पहिला भाइ नै विदेश गयो।

सम्बन्धको समीकरण पनि बहुत गजबको हुने। जीवन भोगाइको क्रममा आउने हैरानीहरु, ब्ल्याकमेलहरु, धम्क्याइ र घुर्क्याइहरुले कुन रुप लिन्छ, कुन परिणाम दिन्छ हामी थाहै पाउँदैन रहेछौं। कतिबेला, कुन बिन्दुमा आएर त्यही घुर्की र हैरानी जीवन मुस्कुराउने बहाना बन्ने रहेछ। ‘कोही’ हुनुको प्रमाण पुष्टिको आधार बन्ने रहेछ। आफ्नो हुनुको जीवन्तता न रहेछ सबै। हामीबाट छुटिगएका समय-असमय, बिस्मात् र विस्मृतिहरु स्मृतिका कोलाज न रहेछन्।

रेडियो, टिभी सबैतिर देउसे र भैलोका धुन बज्न थालेका छन्। यता धुन बज्दा उता आँखा भरिन्छन्। यता घर उज्यालिंदा उता छोराहरुको अनुहार अध्यारिन्छ। यता मीठा–मीठा पकवान पाक्दा उता मुख रसाउँछ। ‘माला’ बन्न नपाउने शर्तमा सयपत्री र मखमली फुल्दैछन्। दैलोमा ओखर कुरिरहेको छ, भाइका दुर्नियतिहरु बोकेर। जस्केलामा यादहरुको उकुसमुकुस छ। तथापि भाइटीका आउन छाड्दैन। यसरी नै, भाइ नआउने भाइटीका हरेक वर्ष आइरहन्छ। र मलाई भाइ भौतिक रुपमा टाढा भएको आभास दिलाएर जान्छ।

भाइटीकाको शुभाशिष् !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४