Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राउटे महामुखियाको निधनले रामकुमारी झाँक्री स्तब्ध


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २३ २०८०
  • 5.3K
    SHARES

काठमाडौं । राउटे समुदायका पूर्वमुखिया मयनबहादुर शाहीको निधनले पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्तब्ध भएको बताएकी छन् । नेकपा एकीकृत समाजवादीकी प्रभावशाली नेतृ झाँक्रीले आइतबार राति सामाजिक सञ्जालमार्फत शाहीको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।

उनले आफू मन्त्री हुँदा तत्कालीन समयमा राउटे समुदायका लागि व्यवस्थित बस्ती बनाउने सपना समेत अधुरै रहेको बताउँदै आफ्नो कार्यकालमा गरेका प्रयासबारे समेत स्मरण गरेकी छन् । झाँक्रीले राउटे समुदायका ज्येष्ठ सदस्य रहेका ६६ वर्षीय मयनबहादुरसँग जाजरकोटको भेरी नदी किनारमा पुगेर आफूले मन्त्रीका रूपमा सुनाएका योजना र राउटेहरूको उत्थानका लागि गरेको प्रयासको फेहरिस्त उल्लेख गरेकी छन् ।

व्यवस्थित राउटे आवास बनाउने कार्यविधि अलपत्र पार्ने तत्कालीन आर्थिक पूर्वाधार समितिका सचिवदेखि उक्त आवास निर्माणको लागि सम्पूर्ण तयारीमा आफूसँगै खटिएका तत्कालीन शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीलाई समेत उनले सम्झिएकी छन् ।

झाँक्रीको अभिव्यक्ति जस्ताको त्यस्तै :-
राउटेका पूर्व मूखिया मयन बहादुर शाहीको निधनको खबरले अत्यन्तै दुःख लाग्यो। उहाँ राउटेको सबै भन्दा जेष्ठ नागरिक ६६ वर्षको हुनुहुन्थ्यो। उहाँसंगका मेरा केही स्मृति छन। जब मैले सिम्ता भेरी नदीको किनारामा गएर उहाँलाई भेंटेको थिएँ ।उहाँसंग मैले आफ्नो कामको केही योजना सुनाए, मैले सुनाएका योजना वा काम यस्ता थिएः

१. नानीहरूलाई आवश्यक खोप लगाउँ

२. गर्भवती महिलालाई खोप लगाउन दिउँ

३. नानीहरूलाई यहाँहरूको वस्तिमै पढाउँ

४. हामीले दुईवटा फरक ठाउँमा घर बनाईदिन्छौं तपाईहरू हामीले बनाएको घरमा बस्न सबैलाई भनिदिनुस भनेर कुरा गरें। उहाँका केही सर्त थिए । ति सर्त सरकारले केही तत्काल पुरा गर्ने र केही क्रमशः पुरा गर्ने गरी हाम्रो प्ररस्तावमा सकारात्मक हुनु भयो। राउटे संस्कृतिमा केही रूपान्तरण गरौ जीवनलाई आज भन्दा अलि सुखी बनाऔ भन्दा सहमत हुने पात्रको रूपमा पाएको थिएँ।

प्रसंग के थियो भने २०७८ को असोज अन्तिम तिर म मन्त्री भएँ, दशैं, तिहार अनि मलाई कोभिड पनि भयो, काम गर्न नपाई कार्तिक पनि सकियो, चालु आर्थिक वर्ष पहिलो चौमासिक पनि सकियो। प्रगति के छ भन्दा खासै छैन। सरकारले खर्च गरेन भने बजारमा दबाव हुने सुनेको, आफ्नो पालमा भोगियो पनि। मैले मेरो मन्त्रालयको टिमलाई राखेर केही कामका योजना बनाएँ। प्रगति हुनसक्ने आयोजनामा केन्द्रीत गरेर काम गर्ने, त्यस्ता तत्काल प्रगति गर्न नसकिने क्षेत्र पहिचान गरेर केही संसोधन, रकमान्तर आदी गर्ने।शहरी विकाश मन्त्रालयको कार्यक्षेत्र आवास पनि हो। तराईका मुसर, चमार, डोम र राउटेहरूलाई आवास उपलब्ध गराउन सरकारको स्वीकृत कार्यक्रम थियो। म बामपन्थि आन्दोलनबाट आएको मान्छे, राउटे वा गरीव दलितको पैसा अनेत्र लगेर खर्च गर्न मनले मानेन। मेरो टिम पनि त्यस्तै थियो राउटे दलितको लागि सरकारले दिएको प्रतिवद्धता हो, यो यहि नै खर्च गरौ भन्ने । आवासको अधिकार जनताको मौलिक हक हो। यो हक कार्यन्वयन गर्न ऐन पनि हाम्रै पालामा बनिसकेको छ । यो काम गर्न सरकार प्रतिबद्ध छ । तर काम गर्न केही अप्ठ्यारा थिए। म र मेरो मन्त्रालयको टिमले काम गर्ने योजना बनायौ। काम गरौ, कोसिस गरौ, असफल भयौ भने सिकाई हुनेछ, सफल भयौ भने पनि सिकाई हुनेछ भनेर । अनि फिल्डमा गयौं। सुर्खेत हुदै सिम्ता पुग्यौं । तपाईहरूलाई एक पटकमा फरक ठाउँमा दुईवटा वस्तिरघर बनाईदिन्छौं, केही कारण ९कसैको मृत्यू भएमा बस्ति छोड्ने चलन छ० बस्ति छोड्नु पर्दा दोश्रो बस्तिमा सर्ने र पहिलो बस्तिको घरका सामाग्री लगेर फेरी तेश्रो ठाउँमा हामी घर बनाईदिन्छौ भन्ने हाम्रो प्ररस्ताव थियो। त्यसको लागि त्यस्तै सार्न मिल्ने काठ र स्याउला, खर जस्ता सामाग्रीले बनाउने घरको डिजाईन पनि गरेका थियौं।
हामीले यस्तो योजना बनाउदै गर्दा हाम्रो दुईवटा कुरा सिकाई हुनेछ भन्ने थियोः

१. राउटेहरू हामीले बनाएको घरमा बसे भने मानव सभ्यताको हिसावले राम्रो हुनेछ। रूपान्तरणको प्रक्रियाको एउटा पानीढलो बन्ने छ।
२. यदि बसेनन भने, राउटेको आफ्नो एउटा संस्कृति छ त्यसमा उनिहरू संझौता गर्दैनन भन्ने मानक बन्नेछ।
तर यसको लागि कम्तिमा हामीले एक दशक पर्खिनु पर्ला भन्ने थियो। भवन बिभागको महानिर्देशक पद्म मैनालीले प्रकाश शाही मूखियासंग र मैले गाजली र संझनासंग मित लगायौं। साईनो जोड्यौ। आउने जाने गरौला भन्ने बाचा गर्यौ। त्यसपछि काठमाडौ फर्केर राउटेको आवास सम्बन्धि कार्यविधि दुई दिनमै ड्राफ्ट गर्यौँ । आवश्यक प्रक्रिया पुराएर कार्यविधि मैले मन्त्रीपरिषदमा पेश गरें । एकातिर राउटेहरू वनमा बस्ने, वनको राजा भन्ने, अनि हामीले पनि त्यही सार्वजनिक (वनको) जग्गामा काम गर्नुपर्ने थियो । अर्कोतिर घरहरू बनाउदै भत्काउदै र फेरी बनाउदै पनि गर्नु पर्ने भएकोले , प्रचलित कानून अनुसार काम गर्न केही सिमा थिए। कार्यविधि मन्त्रिपरिषदले मन्त्रिपरिषदको समितीमा पठायो। समितीमा छलफल भयो र समितीबाट पास पनि भयो। तर तत्कालिन आर्थिक पूर्वाधार समितीको सचिवले यो पास भएको कार्यविधि प्रमाणिकरण नगर्दिएकोले राउटेको लागि ब्यवस्थित आवास बनाउने सपना अधुरै रह्यो। एक जना मान्छेले कुरा नबुझ्दा वा सहयोग नगर्दा के हुन्छ भन्ने यो एउटा उदाहरण मात्र हो । एउटा मान्छे हुनु र नहुनुमा के फरक पर्छ भन्ने पनि हो । आर्थिक वर्षको अन्तिममा म पनि मन्त्रालयबाट विदा भएँ। मेरो मन्त्रालयको यो काममा रूचि भएका साथिहरूको पनि जिम्मेवारी हेरफेर भएछ। हाम्रो लागि ऐतिहासिक मौका थियो जुन गर्न पाइन। मयन बहादुर बुबा हजुरलाई ब्यवस्थित छाप्रोमा राख्ने सपना सपना नै रह्यो। हजुरप्रति हार्दिक श्रद्धान्जली, शोकाकुल परिवारजन र सबै राउटे समुदायप्रति गहिरो समवेदना। शहरी विकाश मन्त्रालयको त्यही टिम आज पनि छ तपाईहरूले काम अगाडी बढाउने प्रयास गर्नुहोला। म त ब्यक्तिगत रूपमा उहाँहरूको सम्पर्कमा छु। हाम्रो अजम्वरी नाता छ । रगतको साईनो जस्तै बलियो नाता त्यो बस्तिमा जोडेर आएका छौं नीरु संझना सधै रहोस।कर्तब्यपालना गर्ने त्यो सम्बन्धले प्रेरित गरोस ।
फेरी एक पटक हार्दिक श्रद्धाञ्जली मयन बहादुर बुबा !

नोटः फोटो त्यही बेला लिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४