Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्र मन्त्रालयले भन्यो- इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा, मुख्य संकट टर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २३ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरु दूतावासको टोलीसँग सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ नेपालबाट चार्टर्ड जहाज पठाएर स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई हामीले सुरक्षित स्थानमा पुर्‍याइसक्यौं । रातिसम्म मेरो जानकारीमा भएअनुसार ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको छ ।

मुख्य संकट अब टरेको र इजरायलको सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेकाले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन उनले आग्रह गरिन् ।

प्रवक्ता लम्सालले भनिन्, ‘सबै सुरक्षित हुनुहुन्छ । अब केही दिन धैर्य गर्नुस्, सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्छ । उद्धार कार्यका लागि साथीहरु रातभर नसुती खट्नु भएको छ । दूतावासका साथीहरुले पनि बंकरभित्रै बसेर काम गरिरहनु भएको छ ।’

सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ । इजरायलको अहिलेको संकटको बेला इजरायलका स्थानीय बासिन्दा, सेना, कर्मचारी लगायतसँग डिल गर्न सक्ने, त्यहाँको कानुनी प्रक्रिया बुझेको व्यक्ति दूतावासलाई आवश्यक परेकाले सोमबारको मन्त्रिपरिषद बैठकले अंग्रेजी-हिब्रु भाषा जानेको व्यक्तिलाई काममा लगाउन स्वीकृती दिएको हो ।

गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् ।

इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी छ । कोही नेपालीहरु बंकरभित्र बसेर ज्यान जोगाएका थिए ।

तिनीहरुमध्ये गएराति सुरक्षित स्थानमा सारिएका ३२ जना नेपाली विद्यार्थीहरुको नामावली सार्वजनिक भएको थियो । त्यसपछि पनि त्रिभुवन विश्वविद्यालयका विद्यार्थी टोलीलाई सुरक्षित स्थानमा लैजाँदै गरेको भिडियो प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको थियो ।

कृषि विषय अध्ययनसँगै काम पनि गर्नका लागि विश्वविद्यालयहरुसँग सम्झौता गरी विश्वविद्यालयहरुले जिटुजीमार्फत् विद्यार्थीहरुलाई इजरायल पठाउने गरेका छन् । ती विद्यार्थीहरुको विवरण सरकारसँग भए पनि अरु नै तरिकाले इजरायल गएकाहरुको विवरण भने छैन ।

त्यसैले विद्यार्थीहरु बाहेक इजरायलमा कति नेपालीहरु छन् र अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ ।

इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ । उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन् ।

नेपाली विद्यार्थीहरुसँगै नेपाल फर्किन चाहने अन्य नेपालीहरु र दिवंगत विद्यार्थीहरुको शवलाई उडान अनुमति पाउनासाथ नेपाल ल्याइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन् । अहिले पनि युद्धकै अवस्था भएकाले नेपालबाट जहाज पठाउन नसकिएको उनको भनाइ छ ।

सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

नेपालीहरुको उद्धारका लागि आवश्यक परे मित्र राष्ट्रहरुसँग पनि सहयोग माग्ने विकल्प पनि खुला राखेको प्रवक्ता लम्सालले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४