काठमाडौं । नेपाल प्रहरीले दशैँ र तिहारलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना तयार पारेको छ । यसबीचमा हुनसक्ने चोरी तथा दुर्घटनाका न्यूनीकरण गर्न प्रहरीले एकीकृत सुरक्षा योजना तयार पारेको हो ।
एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए । उनका अनुसार उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, बागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् ।
प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट, ग्रामीण क्षेत्रमा १५ सुरक्षा चेकपोस्ट खडा गर्ने भएको छ । ‘अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्र वर्गीकरण गरी प्रहरी परिचालन गरिनेछ,ड प्रहरी प्रवक्ता कडायतले भने, ‘उपत्यकाको सुरक्षाको लागि आवश्यकताका आधारमा सुरक्षा अवस्था निगरानी गर्न ड्रोन प्रयोग गर्नेछौँ ।
विशेषगरी सुख्खा पहिरो खस्ने पृथ्वी राजमार्ग खण्डको मुग्लिङ–नारायणगढ खण्डमा २४ सै घण्टा सुरक्षाकर्मीसहित सडक विभागसँग समन्वय गरी आवश्यकताअनुसार एक्स्काभेटर, डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ । चाडबाडमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताका आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ भने राजधानीबाट टिकट लिने यात्रुका लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी त्यहाँबाट सेवा दिन सुरु गरेको छ ।
प्रहरीले टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्नेलगायतका कामलाई निरुत्साहित गर्न बसपार्क र अन्य स्थानमा विशेष गस्ती सुरु गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको बजार अनुगमन समितिसँग सहकार्य गरी प्रहरी परिचालन गर्ने योजना रहेको प्रहरीले विशेष सुरक्षा योजना लागु गरिसकेको छ । डिआइजी कडायतका अनुसार घटस्थापनादेखि यसलाई कडाइका साथ कार्यान्वयन गर्न मातहतका सबै प्रहरी निकायलाई निर्देशन दिइसकिएको छ ।
कालोबजारी नियन्त्रण, बजार अनुगमन, हाते पर्चासहित प्रचारप्रसारलगायतका कार्य अघि बढाउन सबै प्रहरी निकायलाई आग्रह गरिसकेको प्रहरीको भनाइ छ । बढी भिडभाड हुने क्षेत्रमा चोरी र लुटपाट नियन्त्रण गर्न, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, सवारी साधनमा हुने मनपरी भाडा नियन्त्रण गरी कारबाही गर्न सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको पनि डिआइजी कडायतको भनाइ छ ।
प्रहरीले अति संवेदनशील क्षेत्रमा कुकुरबाट चेकिङ सुरु गरेको छ । हाल प्रहरीले बैंक, वित्तीय संस्था, गहना पसल, सपिङ मललगायत भिडभाड हुने स्थानमा गस्ती बढाएको छ । ती स्थानमा व्यापक मात्रामा सादा पोशाकका प्रहरी परिचालन भएका छन् ।