काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद माफी मिनाहामा भइरहेको आलोचनाप्रति पार्टी गम्भीर हुनुपर्ने बताएका छन् ।
३ असोजमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा जेलमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता रिगल भनिने योगराज ढकालले कैद माफी मिनाहा पाएका थिए । त्यस विषयमा राष्ट्रपतिको आलोचना भइरहेको छ ।
सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसमा राष्ट्रपतिको नभई सरकारको र सरकारमा सहभागी भएको दलको हिसाबले नेपाली कांग्रेसको दोष रहेको बताएका हुन् ।
‘राष्ट्रपतिज्यूको त औपचारिकताको कुरा मात्र हो । त्यो निर्णयको भारी सिंगो नेपाली कांग्रेसले बोक्नुपर्छ । हामीलाई त केही पनि थाहा छैन, किन दिएको पनि थाहा छैन, किन गरेको पनि थाहा छैन’ महामन्त्री थापाले सभापति शेरबहादुर देउवातर्फ प्रश्न गरेका छन् ।
उनले नेपाली कांग्रेसको कुनै कार्यकर्ताले व्यक्तिगत रुपमा गरेको अपराध र गलत कामको भारी व्यक्तिले नै भोग्नुपर्ने बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयका कारण राष्ट्रपति संस्थाको आलोचना भएका विषयमा गम्भीर हुनुपर्ने बताएका हुन् ।
‘बडो सिरियस्ली यसमा चिन्तन गरौं । गणतन्त्र हाम्रा थुप्रै कार्यहरुका कारण बलियो बन्छ । गणतन्त्र बलियो हुनु राष्ट्रपति संस्थाको गरिमा नै हो’ उनले भनेका छन् ।
आममाफी दिंदा सरकारले गरेको सिफारिस सबै सही भन्न नमिल्ने महामन्त्री शर्माले बताएका छन् ।