Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्यतालिका अनुसार चल्न देउवाको आनाकानी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १६ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान नमान्नु कांग्रेसजनका लागि नौलो विषय रहेन । पहिलो कार्यकालमा विधान अनुसार विभाग गठन लगायत कुनै पनि काम नगरेका देउवाले दोस्रो कार्यकालको डेढ वर्ष पनि त्यसरी नै गुजारे ।

पार्टीलाई विधान अनुसार चलाउने बाचा गरेर चुनाव जितेका आफूमाथि नै प्रश्न उठ्न थालेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवालाई बाँध्न ‘सांगठनिक कार्ययोजना र कार्यतालिका’ अघि सारे । २ देखि १० साउनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयको एकवर्षे कार्यतालिका अनुमोदन गर्‍यो ।

बैठक अन्त्य गर्दै गर्दा सभापति देउवाले हरेक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बोलाउने विधानको व्यवस्था अनुसार २ असोजमा बैठक बस्ने घोषणा गरेपछि कांग्रेस नेताहरू आशावादी पनि देखिएका थिए ।

तर महिना दिनमै नेताहरू निराश देखिएका छन् । नेताहरूका अनुसार सभापति देउवाले हुन्न/गर्दिनँ त भनेका छैनन्, तर कार्यतालिका पालना पनि गरिरहेका छैनन् ।

कार्यतालिका अनुसार १५ भदौभित्र सबै केन्द्रीय विभाग गठन भइसक्नुपर्ने थियो । अनुशासन, निर्वाचन र लेखा समिति, नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र भ्रातृ संगठनहरूले पूर्णता पाउनुपर्थ्यो । विभाग, समिति, भ्रातृ संस्था लगायतमा गर्नुपर्ने कार्यको समयावधि १५ भदौ तोकिएको थियो ।

यस अवधिमा सभापति देउवाले केही निर्णय लिएपनि विभाग गठन हुन सकेन । कांग्रेसको विधानमा ४८ विभाग रहने व्यवस्था छ । पछिल्लो केन्द्रीय कार्यसमितिले विभाग थप्ने निर्णय लिएको छ । २२ वटा विभाग थप्ने प्रस्ताव आएकोमा कार्यक्षेत्र मिलाउन अर्को दुई वटा पनि थपिने नेताहरू बताउँछन् ।

विभाग गठनको अधिकार सभापतिलाई मात्रै छ । विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र विभाग गठन गर्ने उल्लेख छ । मंसिर २०७८ मा भएको १४औं महाधिवेशनबाट सभापति चुनिएका देउवाले डेढ वर्ष बितिसक्दा पनि विभाग नबनाएपछि महामन्त्रीहरूले भदौ १५ को डेडलाइन तोके, जसलाई केन्द्रीय कार्यसमितिले पनि पारित गर्‍यो । त्यसअनुसार आज (शुक्रबार) सम्म सबै विभाग गठन भइसक्नुपर्ने थियो ।

स्रोतका अनुसार सभापति देउवाले विभाग प्रमुखहरूको नामबारे गृहकार्य गर्न उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मा दिएका थिए । खड्काको प्रोस्टेटको अपरेसन गरिएको छ र इन्फेक्सनका कारण उनको अस्पताल बसाइ केही लम्बिएको छ । महामन्त्रीद्वय थापा र शर्माले शुक्रबार देउवा र उपसभापति खड्कालाई छुट्टाछुट्टै भेटेर कम्तीमा केही विभाग बनाउन आग्रह गरेका छन् ।

राति अबेर देउवाले १५ वटा विभागको प्रमुख मनोनित गरेका छन् । नेताहरूका अनुसार अरू विभाग कहिले बन्ने कुनै टुंगो छैन ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने सभापतिले सबै पक्षलाई मिलाएर निर्णय गर्न खोज्दा ढिलो भएको बताउँछन् । ‘विधानले सभापतिले गर्ने भन्ने छ । तर, सभापतिको मनले सहमतिले गर्ने परम्परा छ’ विश्वकर्मा भन्छन्, ‘सभापति सहमति भन्दा बाहिर गएर तोकेको भनेर रियाक्सन हुने भएकाले सबैलाई मिलाएर लैजान खोज्नुभएको हो ।’

संस्थापन इतरका नेताहरू भने सभापतिले प्रभावशाली विभागको नेतृत्व आफू निकट नेतालाई दिन खोज्दा पनि विलम्ब भएको बताउँछन् । ‘महामन्त्रीहरूले पटक–पटक ध्यानाकर्षण गराउनुभएको छ । तर उहाँले आफू निकटहरूलाई मिलाउन समय लिनुभयो’, एक नेता भन्छन् ।

संस्थापन समूहका नेता समेत रहेका प्रचार विभाग प्रमुख विश्वकर्मा भने पार्टीभित्र असन्तुष्टि नहोस् भनेर सभापतिले सबैसँग परामर्श गर्न खोजेको बताउँछन् । ‘मैले खोजेको विभाग पाइन भनेर भोलि कसैले राजीनामा गर्देला । विरोध नहोस् भनेर परामर्श गरिरहनुभएको छ’, उनले भने ।

कांग्रेस सभापति देउवाले केन्द्रीय समितिले पास गरेको कार्यतालिकामा तोकिएको डेडलाइनभित्रै नेविसंघ र तरुण दलको तदर्थ समिति बनाएका छन् । एकातिर जम्बो कमिटी बनेको छ भने नपरेकाहरूको पनि असन्तुष्टि छ । नेविसंघ ७११ र तरुण दल ४०१ सदस्यीय बनेको छ । तर तदर्थ समितिले शपथ कार्यक्रम समेत राख्न सकेका छैनन् ।

महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अपूर्ण तदर्थ समिति बनेका छन् । महिला संघ विधान अनुसार ८५ हुनुपर्नेमा ५३, जनजाति महासंघको केन्द्रीय समिति ६९ जना हुनुपर्नेमा ४९ र किसान संघमा ६९ सदस्यीय केन्द्रीय समितिमा १८ जना मात्र छन् । अवधि सकिएका भ्रातृ संस्थाहरू प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, मुस्लिम संघ, ठाकुर समाज, दलित संघमा तदर्थ समिति बनाउनुपर्ने थियो । तर अहिलेसम्म त्यसको कुनै सुरसार छैन ।

सभापति देउवाले पदाधिकारी समेत अपूर्ण राखेका छन् । विधानको २१ (४) अनुुसार निर्वाचित केन्द्रीय सदस्य मध्येबाट एक जनालाई सभापतिले कोषाध्यक्ष मनोनित गर्नुपर्दछ । तर अहिलेसम्म कोषाध्यक्ष रिक्त छ । नेता अर्जुननरसिंह केसी पद्धति अनुसार पार्टी सञ्चालन गर्ने भन्दा पनि आफ्नो अनुसार चलाउने प्रवृत्तिले प्रश्रय पाएको बताउँछन् । ‘विधान, प्रक्रिया, पद्धति भन्दा आफ्नो सुविधा अनुसार चल्ने र चलाउने प्रक्रिया छ । अहिले पनि त्यही भइरहेको छ’, केसी भन्छन् ।

कांग्रेस सभापति देउवाले अनुशासन समितिलाई भने पूर्णता दिएका छन् । केन्द्रीय सदस्य आनन्द ढुङ्गाना संयोजक रहेको अनुशासन समितिमा ईश्वरी न्यौपाने, सञ्जय गौतम, राजीव कोइराला र ध्रुव वाग्ले मनोनित गरेर पूर्णता दिइएको छ । निर्वाचन समितिको संयोजक खम्मबहादुर खाती र लेखा समितिको संयोजक श्याम घिमिरे तोकिए पनि सदस्यहरू मनोनित भएका छैनन् ।

सभापतिले निर्णय गर्नुपर्ने बाहेकका अरू काम भने वार्षिक कार्यतालिका अनुुसार भएको छ । संगठन सुदृढीकरणको दशदिने (२० देखि ३० साउन) अभियानमा ७७ जिल्लामा प्रतिनिधि खटाएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ९ भदौमा पोलिसी ह्याकाथन गरेको कांग्रेसले बीपी जन्मजयन्तीको अवसर पारेर भदौ २४ देखि २६ सम्म बीपी साहित्य महोत्सव राखेको छ । सभापतिले गर्नुपर्ने काम भने सन्तोषजनक नभएको एक पदाधिकारी बताउँछन् । ‘हिजो विधान अनुसार काम नभएकाले कार्यतालिकामा बाध्य पार्न खोज्यौं, त्यसमा पनि आशातित सफल भइएन’, एक पदाधिकारीले निराशा व्यक्त गरे ।

*अपडेट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४