काठमाडौँ । डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले ।
बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली ।
गोठालाले वन वन डुली हाल्न थाल्यो सुसेली ।।
राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौँको वैशाखको फूल फूलको सहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूल फूलले ढाकेको छ ।
वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौँका सडक र किनारमा सवारी र पैदल यात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् ।
अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ । वसन्त ऋतुको सुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ ।
राजधानी काठमाडौँका सडक पेटीमा फुलेका फूलको दृश्यले कम आनन्द महसुस हुँदैन । सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरूसँग रमाइरहेका हुन्छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ ।


