Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लम्पी स्किन विरुद्धको खोप नेपालमै उत्पादन गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ३२ २०८०
  • 4.4K
    SHARES

काठमाडौँ । मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँग समन्वय गरिरहेको जनाएको छ । यसका लागि प्रस्तावको मस्यौदा तयार गरी विभागबाट मन्त्रालयमा पेश गरिएको छ ।

कृषिमन्त्री डा वेदुराम भुसालले हालैको आफ्नो भारत भ्रमणका क्रममा भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा स्वदेशमै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ निःशुल्क उपलब्ध गराउन समन्वय भएको जानकारी गराए । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले भने, ‘यसका लागि निरन्तर पहल भइरहेको छ, आगामी दिनमा पनि लिम्पी स्किन रोगको सङ्क्रमण फैलिन नदिन मुलुकभित्रै आवश्यक मात्रामा खोप उत्पादन गर्ने तयारीमा लागेका छौँ ।’

लम्पी स्किन रोगको हालको प्रकोप नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद्लगायत अन्य क्षेत्रका विज्ञ प्राविधिकसमेतको उपस्थितिमा यस रोग नियन्त्रणका लागि लम्पी स्किन (निसिङ स्ट्रेन) खोपको अतिरिक्त ‘गोट पक्स’ खोप आयात र प्रयोग गर्न सहमति दिइएको छ । राष्ट्रव्यापी रूपमा बृहत् खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरिएको छ’, मन्त्री डा भुसालले भने । हाल जोर्डन, तान्जानियाँ र टर्कीबाट विभिन्न पैठारीकर्ताहरूले यसको खोप आपूर्ति गरिरहेका छन् । खोप आयातका लागि पशु सेवा विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीका लागि अनुमति दिने प्रक्रियालाई सुचारू गराइएको छ । लम्पी स्किन रोगको प्रकोपको अवस्था नेपालमा पहिलो पटक यो रोग २०७७ साल असारमा मोरङको सुन्दरहरैचामा गाईमा देखिएको थियो । यो रोगको सङ्क्रमण गाई/भैँसी/गोरु/राँगो, बाच्छाबाच्छी/पाडापाडीमा देखिएको छ । नेपालमा ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा हाल मनाङ र मुस्ताङमा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।

यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएकामा प्रदेशहरूबाट प्राप्त पछिल्लो जानकारीअनुसार यो रोग पहाडी जिल्लाहरूमा क्रमशः घट्दो क्रममा रहेको र मधेश तथा बागमती प्रदेशका केही जिल्लाहरूमा यो रोगको सङ्क्रमण देखा परिरहेको छ । हालसम्म यस रोगबाट सङ्क्रमित पशुको सङ्ख्या १३ लाख पाँच हजार तीन सय ६१ रहेको छ भने उपचारपश्चात निको भएको पशु सङ्ख्या १० लाख ८२ हजार एक सय ५९ रहेको छ । हाल सक्रिय सङ्क्रमित पशु सङ्ख्या एक लाख ७५ हजार पाँच सय ५३ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

यसैगरी प्रदेशहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यो रोगका कारण हालसम्म ४७ हजार छ सय ४९ पशु मरेका छन् । हालसम्म आयात भएको खोपको मात्रा १३ लाख ६९ हजार डोज रहेको र हालसम्म छ लाख ८६ हजार चार सय ५० पशुमा खोप लगाइसकिएको मन्त्री डा भुसालले समितिमा जानकारी गराउनुभयो । नेपालमा हाल पशुचौपायाको सङ्ख्या करिब एक करोड २० लाख रहेको र यो रोगको नियन्त्रणका त्यसको ५० प्रतिशत सङ्ख्या अर्थात ६० लाख पशुलाई खोप लगाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । यो रोग नियन्त्रणका लागि पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको, सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

लामखुट्टे, झिँगा, किर्नालगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसङ्क्रमण गर्न पशु धनीहरूलाई अनुरोध गरिएको छ । प्रभावित किसानहरूलाई राहत प्रदान गर्नेसम्बन्धी मापदण्डको मस्यौदा पशु सेवा विभागबाट तयार गरी पेश मन्त्रालयमा छलफलको क्रममा रहेको छ । समितिका ज्येष्ठ सदस्य नवलकिशोर साह सुडीको अध्यक्षमा बसेको बैठकमा सांसदहरू अब्दुल खाँन, अमृतलाल राजवंशी, डा आरजु राणा, वीरबहादुर बलायर, सूर्यप्रसाद ढकाल, सरस्वती सुब्बा, रूपा विक, विमला सुवेदी, मीना तामाङ, बिजुला रायमाझी र अम्मरबहादुर थापाले लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न र प्रभावित किसानलाई राहतको व्यवस्था गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सुदूरपश्चिम र कर्णाली बढी प्रभावित लम्पी स्किन रोगबाट सुदूरपश्चिम र कर्णाली प्रदेश बढी प्रभावित देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा यस रोगबाट हालसम्म तीन लाख २५ हजार सात सय ९९ पशु सङ्क्रमित भएका र त्यसमध्ये १३ हजार सात सय ८३ पशु मरेका छन् । यसैगरी कर्णाली प्रदेशमा हालसम्म दुई लाख २५ हजार ७५ पशु सङ्क्रमित भएका र त्यसमध्ये १० हजार दुई सय ४९ पशु मरेका छन् । यस रोगबाट सबैभन्दा कम मधेस प्रदेशमा ६८ हजार चार सय १६ पशु सङ्क्रमित भएका र दुई हजार २५ पशु मरेका छन् ।

यसपछि गण्डकी प्रदेशमा ६९ हजार आठ सय ४१ पशु सङ्क्रमित भएका र त्यसमध्ये तीन हजार दुई सय ४७ पशु मरेका छन् । यसैगरी कोशी प्रदेशमा हालसम्म दुई लाख ३७ हजार चार सय २१ पशु सङ्क्रमित भएका र त्यसमध्ये छ हजार छ सय ८६ पशु मरेका छन् । बागमती प्रदेशमा एक लाख ९६ हजार आठ सय ७४ पशु सङ्क्रमित भएका र त्यसमध्ये छ हजार १३ पशु मरेका छन् । लुम्बिनी प्रदेशमा हालसम्म एक लाख ८१ हजार नौ सय ३५ पशु सङ्क्रमित भएका र त्यसमध्ये पाँच हजार छ सय ४६ पशु मरेका मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४