काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय के.जि.अर्थात् एक क्विन्टल सुन बाहिरिन नसक्ने बताएका छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद अर्जुननरसिंह केसीले यस्तो बताएका हुन् ।
उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताएका छन् । उनले दशौँ बर्ष बिदेशमा काम गरेर घरमा फर्कदा ल्याउने दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय के.जि.एक क्वीन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताएका हुन् । उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष,पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने समेत बताएका छन् ।
उनले भने, ‘प्रतिपक्षले संसद अवरोध गर्ने अनि सत्तापक्षलाई गाली गरेर के हुन्छ ? संसदलाई जहिले पनि बन्धक राख्नेकुरा प्रतिपक्षको निरन्तर स्वभावकै रुपमा परिणत भएको छ । पहिला ५९ दिन संसद बन्द भएको इतिहास छ । अहिले पनि त्यस्तै चल्दैछ ।
हामी पनि प्रतिपक्षमा बसेको हो, हामीले कति दिन संसद चल्न दियौँ । त्यसकरणले संसद बन्दको विकल्पमा अरु बाटो खोल्नुपर्छ । उहाँहरुले उठाउनुभएको इएस्युजहरुमा कतिपयमा हाम्रो पनि सहमत छन । जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु ।
सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔँ । एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्वीन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ ।
नेता केसीले संसद बन्धक राख्नेकुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताएका छन् ।