काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक मंगलबार बस्दै छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ । एक वर्षपछि बस्न लागेको बैठकको लागि विभिन्न १० एजेण्डा तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले मंगलबार बस्ने केन्द्रिय कार्यसमिति बैठकको एजेण्डा तय गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ । बहुचर्चित ललिता निवस जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड र त्यसमा मुछिएर कारागार पुगेका पूर्वमन्त्री बालकृष्ण खाँणको विषयलाई भने कांग्रेसले छलफलको एजेण्डा बनाएको छैन ।
यसैगरी बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ भने कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्ताव गरिनेछ ।
केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने छन् ।
उक्त छलफलमा सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावसमेत गरेका थिए । तर, त्यस विषयमा फरकफरक मत आएकोले के गर्ने भन्ने टुंगिएको छैन ।
यस्तो छन् बैठकका एजेन्डा :
१. समसामयिक विषय ।
२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।
३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।
४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।
५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।
६. विभाग गठनसम्बन्धी प्रस्ताव ।
७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।
८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव
९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।
१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।