काठमाडाैँ । पशुपतिनाथ मन्दिरमा साउने सोमवारको पूजाआजा गर्न आएका दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइँदैछ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउने सक्रान्तिलाई रोपाईं सकेपछि मैजारो खाने दिनको रुपमा पनि लिने गरिन्छ ।
यस्तै, नेपाली समाजमा साउने सक्रान्तिको दिन साँझ घर-घरमा लुतो फाल्ने चलन पनि रहेको छ । भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टोसहित साँझ लुतो फाल्ने गरिन्छ ।
यस क्रममा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन पनि छ । असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।
महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै हरियो पोशाकमा सजिएर शिवलाई प्रसन्न पार्न सोमबारे ब्रत बस्छन् ।
साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साथै यो महिनाभर शिवजीका भक्तजनहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।
यस्तै, कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन सार्वजनिक बिदा दिइएको छ । कर्णालीमा साउने सक्रान्तिको दिनलाई देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।
साउनको पहिलो सोमवार साउन १ गते परेको छ । साउनको सोमवार पशुपति क्षेत्रमा लाखौं भक्तजन आउने गरेका कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन्, सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले सुनाए । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षा लगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।
साउने सोमवार ७ हजार ५०० भन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए । यसैगरी वासुकीनाथको मन्दिरमा ३ हजार १०० भन्दा कमको विशेष पूजा गराइने छैन । १८१ देखि २५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमवार पूजा गराउन नसकिने कोषले जनाएको छ ।
साउने सोमवारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमवार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमवार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।
साउनको महिनाभित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा/पोते लगाएर शिवको पूजा गर्दछन् ।
साउने सोमबारको महत्व
पवित्र महिना साउन र त्यसमा पनि सोमबार छुट्टै विशेषता रहन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।
साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउछन् । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्छ । त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ । धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिना धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ ।
पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो । त्यसो त शिवको पूजा बालाचतुर्दशी मङ्सिर, माघे संक्रान्ति माघमा, महाशिवरात्री फागुनमा, अक्षय तृतीया वैशाखमा मनाइन्छ तर अरू महिनामा एक दिन मात्र शिवको पूरा गरिन्छ भने महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्रै हो । शिवलाई जलधार सारै प्रिय छ । प्रकृतिले नै जलधारा लगाउने यो महिना वातावरणीय स्वच्छताका हिसाबले पनि उत्तम मानिन्छ ।
हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।