काठमाडौँ । नेकपा एमालेले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने बताएको छ । सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेपछि एमालेले कुनै हालतमा सभामुखको प्रयोग गर्न नमिल्ने बताएको हो ।
‘संविधान भन्दा बाहिर गएर गरेको कुराको पालना कसैले गर्छ र ? संविधान मिच्न दिन्छौं र हामी कसैलाई ?,’ एमाले संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने,‘ संविधान मिच्न पाइदैन, एमालेले संविधान मिच्न दिदैन ।
उनले सरकारमा दाबी पेश गर्दा सभामुखको प्रयोग गर्न संविधानले नै परिकल्पना नगरेको बताए । ‘सभामुखको प्रयोग गर्नै मिल्दैन, गर्ने भए संविधान च्यात्नुपर्यो पहिला,’ उनले फेरि भने,‘ अहिले संविधान च्यात्नका लागि उद्धव थापालाई, राजेन्द्र राईलाई अथवा इन्द्र आङ्बोलाई अधिकार छ र ? त्यो सम्भव नै छैन, सम्भव नभएको कुरामा बहस गर्न आवश्यक छैन ।
उनले संविधानको धारा १६८ को २ अनुसार एमालेले सरकारमा दाबी नगर्ने र आज बेलुका ५ बजेपछि १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुने बताए ।
बहुमतको सरकारका लागि एमालेले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले बहुमतको सरकारमा दाबी नगर्ने बताए । ‘दाबी कसरी गर्नु हामीले, दाबी त बहुमत पुर्याएर गर्नु पर्यो आज त,’ उनले भने,‘ भरे ५ बजेपछि हाम्रो पालो आउने हो ।’
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ नै छ । ४० सिटको एमाले प्रतिपक्षमा छ । ६ सिटको राप्रपाले उद्धव थापालाई सहयोग नगर्ने बताएको छ ।
गठबन्धन दलले सभामुखसहित ४७ पुर्याएर सरकार गठन गरेपनि विश्वासको मत लिँदा सभामुखले बराबरी भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् । राप्रपाले सहयोग नगरेको अवस्थामा अब बन्ने सरकार ३० दिनपछि ढल्ने जोखिम छ ।