Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलहरी जाँच्ने क्रममा के के भेटियो ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १२ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मध्यरातसम्म पशुपतिनाथ मन्दिरमा स्थापना गरिएको सुनको जलहरी जोख्ने र जाँच्ने काम गर्‍यो । त्यसबारे अख्तियारले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया भने दिएको छैन ।

कोषका पदाधिकारीहरुले अनौपचारिक रुपमा जलहरी निर्माणमा खपत भएको भनिएको १०८ किलो सुन आइतबार मध्यराति परीक्षणका क्रममा पुष्टि भएको दाबी गरेका छन् । सुन जोख्ने काममा सहभागी एक कर्मचारीका अनुसार जलहरी र पेटी समेत तौलिंदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको हो ।

सुन जोखेपछि मुचुल्का बनाएर फर्केको अख्तियारको टोलीले ‘यो विषयमा अहिले बाहिर नबोल्नुहोला’ भनेर निर्देशन दिएको भन्दै उनले नाम बताउन चाहेनन् ।

कोषका पदाधिकारीहरुले दाबी गरे अनुसार, ज्योतिर्लिङ्गमा राखिएको सुनको पेटी समेत जोख्दा आधा किलो कम सुन फेला परेको हो । कोषका पदाधिकारीहरु भने पटक–पटक राख्ने र झिक्ने काम भएको अनि जलहरी स्थापना गरेको दुई वर्ष बितेकाले आधा किलो जति तौल कम हुनु स्वाभाविक हुने दाबी गर्छन् ।

दुई वर्षअघि पशुपति क्षेत्र विकास कोषले जलहरी जडान गरेको मुचुल्कामा भने ९६ किलो ८२२ ग्राम सुन थियो । अख्तियारमा उजुरी दिनेहरुले करिब ९७ किलो सुन खपत गरेका कोषका पदाधिकारीहरुले बाँकी ११ किलो सुन हिनामिना गरे भन्ने आरोप लगाएका थिए ।

बाँकी रहेको ११ किलो सुनको पेटी जलहरी स्थापनापछिको निकै दिनपछि मात्रै मन्दिरमा लगेर स्थापना गरिएको थियो । अख्तियारको टोलीले पेटी बनाएको ठाउँमा पुगेर कालिगडसँग बयान लिएको छ ।

मुचुल्कामा बाँकी रहेको करिब ११ किलो सुनबारे प्रश्न उठेपछि कोषका पदाधिकारीहरुले बाँकी रहेको सुन पेटी बनाएर पशुपतिको मूर्तिमा लगाइदिएको बताएका थिए । पेटी जाँच्दा पुगनपुग ९ किलो सुन रहेको भेटिएको सुनको गुणस्तर परीक्षण गर्दा औसतमा २२ क्यारेट सुन प्रयोग भएको खुलेको थियो ।

परीक्षणका क्रममा जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री भानुभक्त ढकालदेखि कोषका पदाधिकारीहरुको नाम नै उल्लेख गरेको भेटिएको हल्ला चलेको थियो ।

कोषका पदाधिकारीहरु यो दाबी झुटो रहेको बताउँछन् । जलहरी निर्माणमा सुरुदेखि नै प्रश्न उठाएका उजुरीकर्ताहरुले भने जलहरीको भित्रपट्टि उनीहरुको नाम राखिएको दाबी गरेका थिए । यही विषय सोमबारको प्रतिनिधिसभा बैठकमा समेत उठ्यो ।

कांग्रेस सांसद रामहरि खतिवडा र माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले जलहरीमा आफ्नो नाम लेखाउने रहर पूरा गर्न सुनको जलहरी लगाएको आरोप लगाए । एमाले सांसदहरुले त्यसको विरोध गरेका थिए ।


पशुपतिमा सुनको जलहरी राखेपछि मन्दिर परिसरभित्र स्थापना गरिएको शिलालेख । 

जलहरीमा तत्कालीन पदाधिकारीहरुको नाम लेखिएको आरोपको स्वतन्त्र पुष्टि हुन नसके पनि जलहरी निर्माणपछि भने मन्दिर परिसरभित्र तत्कालीन राष्ट्रपति भण्डारीदेखि प्रधानमन्त्री ओली लगायतको नाम उल्लेख भएको ताम्रपत्र भने राखिएको थियो ।

उनीहरुले त्यसलाई सारेर पशुपति क्षेत्र विकास कोषको कार्यालयमा राख्न माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४