काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट ल्याएको छ । र्आइतबार गाउँपालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष खमला थापा मगरले आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।
पालिकाको अघिल्लो वर्षको कुल बजेट ५८ करोड रहेको थियो भने यस पटक २ करोड बजेट कम ल्याएको छ । त्यस्तै १३ औं गाउँसभामा अध्यक्ष मैन कुमार मोक्तानले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
अध्यक्ष मोक्तानले प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई प्राथमिकता दिइएको छ । १३ औं गाउँसभाले निती कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको छ ।
गाउँ सभामा कार्यपालिका सदस्यहरुले अध्यक्ष/उपाध्यक्षले आफूखुसी योजना र बजेट बाँडने प्रथा हटाउन माग गरेको एक कार्यपालिका सदस्यले बताए । उनले भने,‘तीन करोड बजेटमा गाउँपालिकाभित्र एउटा महत्वपूर्ण सडक निर्माण हुन्छ, तर अध्यक्ष/उपाध्यले तीन करोड कनिका छरेजस्तो गरी योजना छनोट गरेर सिध्याउने गरेका छन् ।
संघ र प्रदेशबाट पालिकालाई आउने बजेट घटेको कारण यस आर्थिक बर्ष भन्दा गाउँपालिकाले दुई करोड कम बजेट ल्याएको छ । रामेछापका अन्य स्थानीय तहले अध्यक्ष उपाध्यक्षले जगेडामा राख्ने बजेट कटौती गरेपनि दोरम्बा शैलुङ गाउँपालिकामा भने निरन्तरता दिने तयारी गरिएको छ ।